रास्वपाले सांसदको उपस्थिति निगरानी गर्न बनायो गुगल फर्म

रास्वपाले सांसदको उपस्थिति निगरानी गर्न बनायो गुगल फर्म
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३
रास्वपाले सांसदको उपस्थिति निगरानी गर्न बनायो गुगल फर्म

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा ल्याएको छ। सांसदको उपस्थिति, अनुपस्थिति तथा बैठक छाड्ने अवस्थाको विवरण व्यवस्थित रूपमा अभिलेख राख्न गुगल फर्म प्रयोगमा ल्याइएको हो।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार संसद् बैठकमा अनुपस्थित हुने, निर्धारित समयभन्दा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने तथा बैठकमा उपस्थित भएर बीचमै बाहिरिने सांसदले अनिवार्य रूपमा गुगल फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

बैठकमा उपस्थित हुन नसकेको अवस्थामा सांसदले त्यसको कारण खुलाउनुका साथै आवश्यक प्रमाणसमेत फर्ममा अपलोड गर्नुपर्नेछ। त्यस्तै, बैठक चलिरहेका बेला बाहिर जानुपर्ने र पुनः फर्किनुपर्ने अवस्थामा पनि कारणसहित विवरण बुझाउनुपर्नेछ।

रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार फर्ममा सांसदको नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, बैठकमा अनुपस्थित हुनुको कारण तथा बैठक बीचमै छाड्नुपर्ने अवस्थाको कारणलगायत विवरण माग गरिएको छ। सांसद बिरामी परेको अवस्थामा उपचार भइरहेको स्थानको विवरणसमेत उल्लेख गर्नुपर्ने व्यवस्था छ।

निर्वाचन क्षेत्र जानुपर्ने भए जाने र फर्किने समयसहितको तालिका बुझाउनुपर्नेछ। औपचारिक निमन्त्रणा वा विदेशमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुपरेमा आयोजक संस्था, कार्यक्रमको विवरण तथा सम्बन्धित निकायबाट प्राप्त अनुमति पत्रसमेत पेश गर्नुपर्नेछ।

बुर्लाकोटीका अनुसार फर्म बनाउनुको उद्देश्य सांसदको हाजिरी मात्र निगरानी गर्नु नभई उनीहरूलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउनु हो। यसबाट सांसदको अनुपस्थिति, ढिलो उपस्थिति तथा बैठक छाड्ने अवस्थाको विवरण एकीकृत रूपमा राख्न सहज हुने रास्वपाको विश्वास छ।

मुख्य सचेतक बुर्लाकोटीका अनुसार चारवटा अवस्थामा फाराम अनिवार्य गरिएको छ। कारणवश बैठकमा पूरै उपस्थित हुन नसक्ने, ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, बैठक बीचमै छाड्नुपर्ने तथा बैठक चलिरहेका बेला बाहिर गएर पुनः फर्किनुपर्ने सांसदले फाराम भर्नुपर्नेछ।

यससम्बन्धी निर्देशन रास्वपाका सांसदहरूलाई पठाइसकिएको छ।

यसअघि २६ साउनमा बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको थियो। खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा आवश्यक ६९ सदस्यको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको थियो। त्यसका कारण सरकारी विधेयक अघि बढाउने प्रक्रिया प्रभावित भएको थियो।

प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेको उल्लेख गर्दै पार्टीले सदनको कामकारबाही प्रभावकारी बनाउन आफ्ना सांसदको उपस्थितिलाई व्यवस्थित गर्न यस्तो व्यवस्था गरेको जनाएको छ।

रास्वपाले सांसदको संसद् उपस्थितिलाई सामान्य हाजिरीका रूपमा मात्र नभई जिम्मेवारी र जवाफदेहितासँग जोडेर हेर्ने बताएको छ। सोही उद्देश्यअनुसार सांसदका गतिविधि व्यवस्थित रूपमा अभिलेख राख्न गुगल फर्म प्रयोगमा ल्याइएको हो।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १३:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !