कार्यालयमा लामो समय अनुपस्थित ७ इन्जिनियर सरकारी सेवाबाट बर्खास्त

कार्यालयमा लामो समय अनुपस्थित ७ इन्जिनियर सरकारी सेवाबाट बर्खास्त
मधेशपत्र मधेशपत्र २०८३ मंसिर २, बुधबार १०:४९
कार्यालयमा लामो समय अनुपस्थित ७ इन्जिनियर सरकारी सेवाबाट बर्खास्त

काठमाडौं : कार्यालयमा नियमित हाजिर नभएको तथा बिदा स्वीकृत नगराई अनुपस्थित रहेको कसुरमा सात जना इन्जिनियर सरकारी सेवाबाट बर्खास्त भएका छन् ।

पूर्वाधार विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात कर्मचारीलाई सेवाबाट हटाइएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार २०८३ कात्तिक २० गतेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिमको कसुरमा उनीहरूमाथि विभागीय कारबाही गरिएको हो ।

ADVERTISEMENT

सेवाबाट हटाइएकामध्ये छ जना कार्यालयमा हाजिर नभएको कसुरमा कारबाहीमा परेका छन् । बर्खास्त हुनेमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल रहेका छन् ।

त्यस्तै, सोही समूहका इन्जिनियर पदमेन्द्र प्रसाद श्रेष्ठलाई बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले निजामती सेवा ऐनको दफा ५९ को खण्ड (ख) (१) अनुसार विभागीय कारबाही गर्दै उनीहरूलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार १०:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !