सरकार जनसरोकारका मुद्दामा जिम्मेवार बनेन : हर्क साम्पाङ

सरकार जनसरोकारका मुद्दामा जिम्मेवार बनेन : हर्क साम्पाङ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:०५
सरकार जनसरोकारका मुद्दामा जिम्मेवार बनेन : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्। जनसरोकारका आधारभूत विषयमा सरकार गम्भीर र जिम्मेवार बन्न नसकेको उनको भनाइ छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले सरकारका विभिन्न मन्त्रालयको कार्यसम्पादन र जवाफदेहितामाथि प्रश्न उठाए। प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्रीसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसकेको उनले टिप्पणी गरे।

ADVERTISEMENT

‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन,’ साम्पाङले भने, ‘सरकार संसदप्रति र संसद जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ। अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन।’

उनले सीमा सुरक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्नको सहज आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणलगायत विषयमा समेत सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै साम्पाङले सुनसरीको रामधुनी–७ मा रहेको ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा छानबिन गरी बस्तीवासीलाई न्याय दिन माग गरे।

त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उनले बचतकर्ताको रकम फिर्ता गराउन सरकारले तत्काल पहल गर्नुपर्ने बताए।

विकास निर्माणका विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराए। सुनसरी–१ सहित देशभरका विभिन्न विकास आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन साम्पाङले माग गरे।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १३:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !