सभामुख अर्याल आज तान्जानिया जाँदै, केन्या हुँदै असोज २७ गते काठमाडौं फर्कने

सभामुख अर्याल आज तान्जानिया जाँदै, केन्या हुँदै असोज २७ गते काठमाडौं फर्कने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार १४:०९
सभामुख अर्याल आज तान्जानिया जाँदै, केन्या हुँदै असोज २७ गते काठमाडौं फर्कने

काठमाडौं : सभामुख डोलप्रसाद अर्याल आज तान्जानिया प्रस्थान गर्दैछन्। अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन उनी नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तान्जानिया जान लागेका हुन्।

असोज १९ देखि २३ गतेसम्म तान्जानियाको अरुशा शहरमा हुने महासभामा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरमार्फत सुशासन अभिवृद्धि गर्ने तथा समुदायलाई सशक्त बनाउने’ विषयमा हुने जेनरल डिबेटमा सम्बोधन गर्ने कार्यक्रम छ।

ADVERTISEMENT

आइतबार साँझ ७ बजे कतार एयरवेजको क्यूआर ६४५ उडानमार्फत दोहा हुँदै उनी तान्जानिया जानेछन्।

भ्रमण टोलीमा सभामुख अर्यालकी श्रीमती अम्बिका केसी, प्रतिनिधि सभाका सांसद रविन महतो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी छन्। यस्तै, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, संघीय संसद् सचिवालयकी सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार पनि टोलीमा रहनेछन्।

महासभामा आपत्कालीन एजेन्डाका रूपमा ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ समेत तय गरिएको छ। यसको मुख्य विषय ‘हिमालयन क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जलवायुजन्य विपद्को सामना र उत्थानशीलता सुदृढ गरौँ’ रहेको छ। उक्त विषयमा नेपालले प्रस्ताव पेस गर्ने तयारी गरेको छ।

आईपीयूअन्तर्गतको एसियाली संसदीय सभामा राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदी सहभागी हुनेछन्। दिगो विकास स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रबाट सहप्रतिवेदन तथा फोरम अफ वुमन पार्लियामेन्टेरियन्समा अञ्जान शाक्य सहभागी हुनेछिन्। युवा सांसदहरूको फोरममा सांसद रविन महतोले सहभागिता जनाउनेछन्।

महासभाका क्रममा विभिन्न मुलुकका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय तथा साइडलाइन भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

त्यसैगरी, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद् महासचिव संघको बैठकमा संसदीय प्रणालीको संरचना, कोष तथा क्षमता निर्माणका विषयमा प्रस्तुति दिनेछन्।

आईपीयूको महासभा तथा सम्बन्धित बैठकमा सहभागी भएपछि सभामुख अर्याल नेतृत्वको टोली केन्या जानेछ। केन्याका सभामुख डा. मोसेस एम. वेताङउलाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाली प्रतिनिधिमण्डलले केन्याको संसद्को औपचारिक भ्रमण गर्न लागेको हो।

तान्जानिया र केन्याको भ्रमण पूरा गरी सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन १८, आईतवार १४:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !