जनमत पार्टीको अध्यक्षमा पुनः डा.सीके राउत, महासचिवमा सञ्जय यादव

जनमत पार्टीको अध्यक्षमा पुनः डा.सीके राउत, महासचिवमा सञ्जय यादव
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार १९:२१
जनमत पार्टीको अध्यक्षमा पुनः डा.सीके राउत, महासचिवमा सञ्जय यादव

जनकपुरधाम : जनमत पार्टीको अध्यक्षमा डा.सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निरन्तरता पाएका हुन्।

अध्यक्ष पदमा राउतको एकल उम्मेदवारी परेको थियो। तर, पार्टी विधानमा अध्यक्षका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले एकल उम्मेदवारी भए पनि मतदान गरिएको थियो।

ADVERTISEMENT

महाधिवेशनबाट २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो।

उपाध्यक्षका सात पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनबाट सिरहाकी अनिताकुमारी मण्डल, धनुषाकी अनितादेवी साह, कपिलवस्तुका नरेन्द्रप्रसाद चौधरी, रौतहटका बसन्तकुमार कुशवाहा, सप्तरीका डा. जयकान्त राउत, सिरहाका राजयकुमार यादव (त्यागी बाबा) र पर्साका माधवप्रसाद सिंह निर्वाचित भएका छन्।

उपाध्यक्षका उम्मेदवार परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए।

महासचिव पदमा सिरहाका सञ्जयकुमार यादव निर्वाचित भएका छन्। उनले पार्टी अध्यक्ष डा.राउतपछी सबै भन्दा बढी मत ६ सय १८ प्राप्त गरि निर्वाचित भएका हुन्।

महासचिव पदमा ममता झा र चन्दनकुमार सिंह पनि प्रतिस्पर्धामा थिए। झाले २२० र सिंहले १६५ मत प्राप्त गरे। दुवैले पार्टी विधानअनुसार आवश्यक २० प्रतिशत मतको थ्रेसहोल्ड पूरा गर्न नसकेको जनमत पार्टीले जनाएको छ।

उपमहासचिव पदमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए।

सचिवका सात पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।

सचिव पदका लागि नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साह भने निर्वाचित हुन सकेनन्।

वीरगञ्जमा सम्पन्न महाधिवेशनबाट राउतले जनमत पार्टीको नेतृत्वमा पुनः निरन्तरता पाएका छन्। निर्वाचनबाट मधेसका विभिन्न जिल्लासहित अन्य क्षेत्रका नेताहरू पनि पार्टीको केन्द्रीय नेतृत्वमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन १८, आईतवार १९:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !