बाबुछोरामाथि कुटपिट : जाहेरीपछि पनि आरोपित पक्राउ परेनन्, प्रहरीमाथि संरक्षणको आरोप

बाबुछोरामाथि कुटपिट : जाहेरीपछि पनि आरोपित पक्राउ परेनन्, प्रहरीमाथि संरक्षणको आरोप
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार २३:०५
बाबुछोरामाथि कुटपिट : जाहेरीपछि पनि आरोपित पक्राउ परेनन्, प्रहरीमाथि संरक्षणको आरोप

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–७ हथमुण्डामा जग्गा विवादलाई लिएर बाबुछोरामाथि कुटपिट भएको भन्दै जाहेरी दर्ता भए पनि आरोपितहरूलाई प्रहरीले पक्राउ नगरेको पीडित पक्षले गुनासो गरेको छ।

ADVERTISEMENT

पीडित शिवकुमार कौशलले आइतबार पत्रकार सम्मेलन गर्दै उनका छोरा चन्द्रिका कौशलमाथि स्थानीय प्रगतिशील माध्यमिक विद्यालयका शिक्षक नवीनकुमार महतो, रुपेशकुमार महतो र धर्मेन्द्रकुमार महतोले निर्घात कुटपिट गरेको आरोप लगाए।

उनका अनुसार कुटपिटबाट चन्द्रिकाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उपचार गराए पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको शिवकुमारले बताए।

घटना भदौ १५ गते भएको र त्यसको १० दिनपछि अर्थात् भदौ २५ गते जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दर्ता गरिएको उनले बताए।

तर, जाहेरी दर्ता भएको लामो समय बितिसक्दा पनि आरोपितहरूलाई प्रहरीले पक्राउ नगरेको उनको गुनासो छ। आरोपितहरू खुलेआम हिँडडुल गरिरहेको भन्दै शिवकुमारले प्रहरी चौकी सिंग्याही मडानका प्रहरीको मिलेमतोमा उनीहरूलाई पक्राउ नगरिएको आरोपसमेत लगाए।

‘मैले आठ कट्ठाभन्दा बढी जग्गा बिक्री गरेको थिएँ। सोही जग्गाको नाप–नक्सा गर्न बोलाइएको बेला मेरो छोरा चन्द्रिका कौशलमाथि निर्घात कुटपिट भयो,’ शिवकुमारले भने, ‘गाउँमै उपचार सम्भव नभएपछि धनुषाको रमदैया अस्पतालस्थित जानकी मेडिकल कलेजमा उपचार गराइरहेका छौँ। उपचार गराउँदा पनि हालसम्म पूर्ण रूपमा निको भएको छैन।’

उनका अनुसार लामो समयदेखि जग्गासम्बन्धी विवाद रहँदै आएको थियो। विवाद समाधानका लागि गाउँका भद्रभलाद्मी तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा छलफल गर्ने सहमति भएको थियो। सोही क्रममा विवाद बढेपछि आफू र छोरामाथि कुटपिट भएको उनको भनाइ छ।

कुटपिटबाट आफ्नो हात, पाखुरा, टाउको र कानलगायतका भागमा चोट लागेको शिवकुमारले बताए। उनका छोरा चन्द्रिका भने घटनामा गम्भीर घाइते भएको उनको दाबी छ।

पीडित पक्षले घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गरी आफूहरूलाई न्याय दिन माग गरेको छ। घटनासम्बन्धी मेडिकल कागजात तथा अन्य प्रमाणसमेत प्रहरीमा पेस गरिएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: २०८३ आश्विन १८, आईतवार २३:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !