५ लाख घुस लिँदै आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत रंगेहात पक्राउ

५ लाख घुस लिँदै आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत रंगेहात पक्राउ
सुरेश ठाकुर सुरेश ठाकुर २०८३ श्रावण ७, बिहीबार १३:११
५ लाख घुस लिँदै आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत रंगेहात पक्राउ

सिरहा : आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले कार्यालय परिसरमै घुस बुझ्ने क्रममा पाललाई नियन्त्रणमा लिएको हो। घटनाको पुष्टि गर्दै अख्तियारका डीएसपी सरोज राईले पक्राउपछि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

ADVERTISEMENT

प्रारम्भिक अनुसन्धानअनुसार, सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा पालले आफूभन्दा माथिल्ला अधिकारीहरूलाई समेत मिलाउनुपर्ने भन्दै सुरुबाटै घुस मागेको आरोप छ। घुस दिएपछि मात्रै अडिट प्रक्रिया सहज बनाइने भन्दै कम्पनीसँग आवश्यक कागजात माग गरिएको बताइएको छ।

अडिटका क्रममा कम्पनीलाई कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व पर्ने जानकारी गराइएको थियो। थप कागजात पेस गरेपछि उक्त दायित्व ३० देखि ३५ लाख रुपैयाँसम्म थपिन सक्ने भन्दै दबाब सिर्जना गरिएको आरोप पनि लागेको छ।

यही क्रममा कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सम्पूर्ण समस्या मिलाइदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको स्रोतको दाबी छ।

घुस बुझाउने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसोदेखि विभिन्न समयसम्म प्रतिक्षा गराइएको थियो। साँझ पालले गोलबजार क्षेत्रमा रहेको जानकारी दिँदै भेटघाटको समय परिवर्तन गरेका थिए। पछि एक बिचौलियामार्फत रकम बुझाउन भनिए पनि अन्ततः रकम कार्यालयमै ल्याउन निर्देशन दिइएको थियो।

कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझाइरहेका बेला अख्तियारको टोलीले कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको हो। घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार १३:११
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !