कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १६:३८
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी पदको मतगणना जारी रहँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा कुल ७ हजार ४३ मत खसेकोमा पछिल्लो विवरणअनुसार २ हजार २ सय ३१ मत गणना भएको छ।

ADVERTISEMENT

खुला उपसभापतिका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले ७१२ मत पाएका छन्।

त्यस्तै, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतिमा चौधरी र परियारबीच प्रतिस्पर्धा

समावेशी उपसभापतिको एक पदमा विनोदकुमार चौधरी र जीवन परियारबीच प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतपरिणामअनुसार चौधरीले ६१५ मत प्राप्त गर्दा परियारले ५७८ मत पाएका छन्।

यसैगरी, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।

खुला महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

खुला महामन्त्रीका दुई पदका लागि भइरहेको मतगणनामा प्रदीप पौडेल १ हजार ३८१ मतसहित पहिलो स्थानमा छन्। उनलाई उदयशमशेर राणाले ७८६ मतसहित पछ्याइरहेका छन्।

अन्य उम्मेदवारमध्ये अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीमा डिला संग्रौला र डिनाबीच कडा प्रतिस्पर्धा

महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना) बीच कडा प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मतपरिणामअनुसार संग्रौलाले ९६५ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् भने डिनाले ९५२ मत पाएकी छन्। उनीहरूबीचको मतान्तर १३ मात्रै छ। अर्की उम्मेदवार रिता खनालले २५१ मत प्राप्त गरेकी छन्।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कडा सुरक्षाबीच मतगणना जारी छ। अन्तिम परिणाम आउन बाँकी रहेकाले पदाधिकारी पदका विजेताको टुंगो लाग्न अझै बाँकी छ।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १६:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !