जनमत पार्टीको चुनावी तयारी तीव्र,पालिकामा उम्मेदवार खोज्दै

जनमत पार्टीको चुनावी तयारी तीव्र,पालिकामा उम्मेदवार खोज्दै
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १५:३३
जनमत पार्टीको चुनावी तयारी तीव्र,पालिकामा उम्मेदवार खोज्दै

काठमाडौं : जनमत पार्टीले आफ्नो राजनीतिक विचार, सिद्धान्त र एजेन्डा जनस्तरसम्म पुर्‍याउन ‘जन जन जनमत, मन मन जनमत’ अभियान सञ्चालन गर्ने भएको छ।

आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन विस्तार, सम्भावित उम्मेदवारको पहिचान र स्थानीय एजेन्डाबारे सर्वेक्षणलाई समेत तीव्रता दिने निर्णय गरेको छ।

ADVERTISEMENT

असोज २३ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले जनमत पार्टीको राजनीतिक इतिहास, सिद्धान्त, संघर्ष, माग, समस्या र समाधानका विषयमा जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष डा. सीके राउतले जारी गरेको सर्कुलरमा समाजमा भ्रष्टाचार र ठगीमा संलग्न व्यक्तिहरूको प्रभाव बढिरहेको तथा जनतामा भ्रम फैलाउने काम भइरहेको दाबी गरिएको छ। अभियानमार्फत पार्टीका विचार र एजेन्डाबारे नागरिकलाई जानकारी गराउँदै जनस्तरमा पार्टीको प्रभाव विस्तार गर्ने लक्ष्य राखिएको छ।

जनमत पार्टीले आगामी स्थानीय निर्वाचनको तयारीस्वरूप विभिन्न पालिकामा संगठनको अवस्था, सम्भावित उम्मेदवार र स्थानीय एजेन्डाबारे सर्वेक्षण गरिरहेको जनाएको छ।

केन्द्रीय कार्यकारिणी समितिदेखि जिल्ला तथा पालिका तहका पदाधिकारीलाई सम्भावित उम्मेदवार र स्थानीय एजेन्डाबारे सुझाव तथा सिफारिस पठाउन आग्रह गरिएको छ। स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै संगठन सक्रिय रहेका जिल्लामा पार्टी कार्यालय सञ्चालन गर्नसमेत निर्देशन दिइएको छ।

सम्भावित उम्मेदवार रहेका तथा बलियो संगठन भएका पालिकामा कार्यालय स्थापना गर्ने र तेस्रो स्थानीय अधिवेशनअन्तर्गत वडा तथा पालिका अधिवेशन हुन बाँकी रहेका स्थानमा अधिवेशनलाई निरन्तरता दिने निर्णय पनि पार्टीले गरेको छ।

जनमत पार्टीले आगामी मंसिर १० गते आसपास काठमाडौंमा ‘रंगभेदविरुद्ध एकता दिवस’ मनाउने निर्णय गरेको छ। कार्यक्रमको तयारी र समन्वय गर्न सम्बन्धित पार्टी समितिहरूलाई निर्देशन दिइएको छ।

यसका लागि वडा–वडामा युवा दस्ता तयार गर्नुपर्ने सर्कुलरमा उल्लेख छ। पार्टीले दशैं, तिहार र छठको अवसरमा नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई पालिकास्तरीय शुभकामना कार्यक्रम आयोजना गर्न पनि भनेको छ।

शुभकामना कार्यक्रमअघि युवाहरूको सहभागितामा वडास्तरमा प्रभातफेरी वा सरसफाइ कार्यक्रमसहित मार्चपास आयोजना गर्न निर्देशन दिइएको छ। यस्ता कार्यक्रमपछि पालिकास्तरमा प्रशिक्षण सञ्चालन गर्दै संगठनलाई थप सक्रिय बनाउने पार्टीको योजना छ।

पार्टीभित्र असन्तुष्ट रहेका कार्यकर्तासँग संवाद गर्न राष्ट्रिय उपाध्यक्ष राजकुमार त्यागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको छ।

त्यस्तै, जनमत पार्टीमा प्रवेश गर्न चाहने तथा स्थानीय वा प्रदेश निर्वाचनमा सहभागी हुन इच्छुक व्यक्तिहरूसँग संवाद गरी सूची तयार गर्ने जिम्मेवारी राष्ट्रिय सचिव पारसप्रसाद साहलाई दिइएको छ।

समाजमा सकारात्मक योगदान पुर्‍याइरहेका युवालाई छनोट गरी ‘५०० युथ आइकन एन्ड इन्फ्लुएन्सर’ सम्मान कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी राष्ट्रिय सचिव सन्तोष राज साहनीलाई दिइएको छ। पार्टीले पालिकास्तरमा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने पनि जनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय सञ्चालनका लागि जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिका सदस्य र पदाधिकारीका लागि लेवी तोकेको छ।

सर्कुलरअनुसार केन्द्रीय कार्यकारिणी समितिका सदस्यले वार्षिक न्यूनतम पाँच हजार रुपैयाँ र केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीले वार्षिक न्यूनतम १० हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ। उक्त रकम केन्द्रीय कार्यालय सञ्चालनमा खर्च गरिने पार्टीले जनाएको छ।

जनमत पार्टीले काठमाडौं उपत्यकामा रहेको केन्द्रीय सम्पर्क कार्यालय सबैलाई आवतजावत गर्न सहज हुने स्थानमा सार्ने निर्णय गरेको छ।

दीर्घकालीन रूपमा काठमाडौं उपत्यकामा केन्द्रीय सम्पर्क कार्यालय तथा जनकपुर र लुम्बिनीमा प्रादेशिक कार्यालय स्थापना गर्न पहल गर्ने पनि पार्टीको योजना छ।

पार्टीले संगठन विस्तार, कार्यकर्तासँग संवाद, प्रशिक्षण, सम्भावित उम्मेदवारको पहिचान र स्थानीय एजेन्डाको छनोटलाई प्राथमिकता दिँदै आगामी निर्वाचनको तयारी अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १५:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !