सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १६:२८
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री मल्लले यसअघि तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेटकै आकारमा नयाँ बजेट ल्याएका छन्।

ADVERTISEMENT

सरकारले बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँडबाट विभिन्न रकम र अघिल्लो आर्थिक वर्षको बचतलाई समेटेको छ।

बजेटमा नेपाल सरकारबाट प्राप्त हुने १० अर्ब २४ करोड रुपैयाँ, संघीय रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ र अघिल्लो आर्थिक वर्षबाट बचत हुने ९ अर्ब ३५ करोड रुपैयाँ रहने अनुमान गरिएको छ।

त्यस्तै, संघीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पारित हुन सकेको थिएन। बजेट पारित हुन नसकेपछि प्रदेशमा राजनीतिक समीकरण परिवर्तन भएको थियो।

त्यसपछि एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेका थिए। नयाँ सरकार गठन भएको करिब दुई महिनापछि चालु आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिएको हो।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १६:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !