ह*त्या आरोपीसँग हिंसात्मक भिडियो बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

ह*त्या आरोपीसँग हिंसात्मक भिडियो बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १६:०९
ह*त्या आरोपीसँग हिंसात्मक भिडियो बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुरधाम : जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका इर्साद खानसँग हिंसात्मक तथा अभद्र भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरीका एक जवान अनुसन्धानमा तानिएका छन्।

सशस्त्र प्रहरी जवान ऋषि मण्डलले केही महिनाअघि इर्सादसँग रिल्स तथा टिकटक बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको हो।

ADVERTISEMENT

बिहीबार साँझ जनकपुरधाममा इर्सादले छुरा प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका–५ का २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो। घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्।

प्रहरी अनुसन्धानअनुसार इर्सादलाई स्थानीयस्तरमा ‘गुण्डा’का रूपमा समेत चिन्ने गरिएको थियो। उनीसँग सशस्त्र प्रहरी जवान मण्डलले बनाएको एउटा भिडियोमा इर्सादले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै अभद्र गाली गरेको र हिंसात्मक चेतावनी दिएको देखिन्छ। उक्त भिडियोमा जवान मण्डलले इर्सादको व्यवहारलाई संरक्षण गरेको जस्तो देखिने बताइएको छ।

इर्सादले अर्को समुदायलाई लक्षित गर्दै हिंसा भड्काउने तथा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका भिडियोसमेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जनकपुरधाममा छुरा प्रहारको घटना भएपछि इर्सादसँग सम्बन्धित पुराना भिडियोहरू सामाजिक सञ्जालमा पुनः भाइरल भएका छन्। तीमध्ये सशस्त्र प्रहरी जवान मण्डलसमेत देखिएको भिडियो सार्वजनिक भएपछि उनीमाथि पनि कारबाही गर्नुपर्ने माग उठेको छ।

सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डीआईजी विष्णु भट्टले जवान मण्डलमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार घटनासँग सम्बन्धित भिडियोमा प्रहरी कर्मचारीको आचरणविपरीत व्यवहार देखिएकाले उनलाई पर्साबाट तानेर गणमा राखी सोधपुछ तथा अनुसन्धान भइरहेको छ।

‘जनकपुरमा छुरा प्रहारको घटना भएपछि जवान ऋषि मण्डलको पनि भिडियो भाइरल भइरहेको छ। त्यो भिडियोमा प्रहरीको आचरणविपरीत व्यवहार भएको देखिन्छ,’ डीआईजी भट्टले भने।

मण्डलमाथिको अनुसन्धानका क्रममा नेपाल प्रहरीसँग समेत समन्वय भइरहेको डीआईजी भट्टले बताएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १६:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !