भन्सार बुझाउनुपर्ने सामान प्रहरीकै ‘सेटिङ’मा व्यापारीलाई फिर्ता

भन्सार बुझाउनुपर्ने सामान प्रहरीकै ‘सेटिङ’मा व्यापारीलाई फिर्ता
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २४, बुधबार १७:१४
भन्सार बुझाउनुपर्ने सामान प्रहरीकै ‘सेटिङ’मा व्यापारीलाई फिर्ता

चन्दन रजक,राजबिराज : एक महिला व्यापारीबाट करिब २५ हजार रुपैयाँ बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा नगरी ती सामान पुनः व्यापारीलाई नै फिर्ता गरिएको दाबी सार्वजनिक भएको छ।

नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी स्रोतले दिएको जानकारीअनुसार, बरामद गरिएको सामानको मुचुल्का उठाई कानुनी प्रक्रिया पूरा गरेर भन्सार कार्यालयमा बुझाउनुपर्ने हुन्छ। तर, उक्त प्रक्रिया पूरा नगरी सामान व्यापारीलाई फिर्ता गरिएको स्रोतको दाबी छ।

ADVERTISEMENT

स्रोतका अनुसार डेबडिया प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) सञ्जय राय यादवको निर्देशनमा सामान फिर्ता गरिएको हो। स्रोतले सामान फिर्ता गर्नुअघि माथिल्लो तहबाट आवश्यक आदेशसमेत नलिइएको दाबी गरेको छ।

यसैबीच, ती महिला व्यापारीले चौकीका इन्चार्जलाई मासिक रूपमा ४ हजार रुपैयाँ दिने गरेको दाबीसमेत स्रोतले गरेको छ। यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

घटनासँग सम्बन्धित सार्वजनिक भएको एक भिडियोमा एक महिला व्यापारीले प्रहरी चौकीलाई १५ हजार रुपैयाँ र ‘अमित यादव’ नाम गरेका घुमुवालाई ५ हजार रुपैयाँ दिने गरेको दाबी गरेकी छन्। भिडियोमा गरिएको दाबीको समेत स्वतन्त्र पुष्टि हुन बाँकी छ।

बरामद गरिएको सामानको मुचुल्का उठाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्थामा सामान फिर्ता गरिएको भए त्यसको आधार के थियो भन्ने प्रश्न उठेको छ। त्यस्तै, सामान फिर्ता गर्न आदेश कसले दिएको थियो र बरामद सामानसम्बन्धी कानुनी प्रक्रिया किन अघि बढाइएन भन्ने विषयमा पनि प्रश्न उठेको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्तासँग प्रतिक्रिया लिँदा उहाँले घटनाबारे आफूहरूलाई जानकारी नभएको बताउनुभयो।

‘त्यस्तो भएको हो भने हामी कारबाही गर्छौं,’ प्रहरी प्रवक्ताले भन्नुभयो।

प्रकाशित मिति: २०८३ भाद्र २४, बुधबार १७:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !