शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि काठमाडौंमा पनि चितवन मोडल अपनाउने तयारी

शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि काठमाडौंमा पनि चितवन मोडल अपनाउने तयारी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १४, आईतवार १४:४१
शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि काठमाडौंमा पनि चितवन मोडल अपनाउने तयारी

काठमाडौं : रसुवा बाढीपछि विभिन्न स्थानमा फेला परेका शवहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि सरकारले काठमाडौंमा संकलन भएका शवलाई पनि डीएनए नमुना सुरक्षित राखेर सामूहिक रूपमा व्यवस्थापन गर्ने तयारी गरेको छ।

लामो समयसम्म शव राख्न पर्याप्त मर्चरीको अभाव भएपछि सरकारले चितवनमा अपनाइएको मोडल काठमाडौंमा पनि लागू गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ।

ADVERTISEMENT

टिचिङ अस्पतालमा शव राख्ने स्थान अभाव हुन थालेपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार डीएनए नमुना संकलन गरी शवहरूलाई सामूहिक रूपमा जमिनमुनि व्यवस्थापन गर्ने तयारी गरिएको बताइएको छ।

यसअघि चितवनमा मृतकका आफन्त समयमा नपुग्दा शव हस्तान्तरणमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले डीएनए नमुना सुरक्षित राखेर शव व्यवस्थापन गरेको थियो।

देवघाट क्षेत्रमा खनिएका खाडलमा रसुवा बाढीमा ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका करिब २ सय शव व्यवस्थापन गरिएको थियो। हालसम्म रसुवा बाढीमा परी मृत्यु भएका ७३४ जनाको शव विभिन्न स्थानबाट फेला परेको जनाइएको छ।

चितवन जिल्ला प्रशासन कार्यालयले शव सडेगलेर महामारी फैलिन सक्ने जोखिम बढेको भन्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार शनिबार दिउँसोदेखि भरतपुर महानगरपालिका–१ स्थित रामनगर र देवघाटबीचको जंगल क्षेत्रमा शव व्यवस्थापन गरिएको हो।

सरकारले भविष्यमा डीएनए परीक्षणका आधारमा पहिचान खुलेमा आवश्यक परे शव निकालेर आफन्तलाई हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।

तर, सरकारको यो निर्णयप्रति आलोचना पनि भइरहेको छ। आफन्तको खोजीमा रहेका सर्वसाधारणले शव व्यवस्थापनको प्रक्रियालाई लिएर असन्तुष्टि जनाएका छन्।

सरकारले भने वर्तमान परिस्थितिमा शव व्यवस्थापनको यो प्रक्रिया व्यावहारिक र आवश्यक रहेको जनाएको छ।

शव व्यवस्थापनअघि प्रत्येक शवबाट डीएनए नमुना संकलन गरी सुरक्षित राखिनेछ। साथै, शवलाई छुट्टाछुट्टै संकेत नम्बर दिई आवश्यक विवरणसहित अभिलेख तयार गरिने प्रशासनले जनाएको छ।

डीएनए नमुना र अभिलेख सुरक्षित राखिएकाले भविष्यमा आफन्तले खोजी वा पहिचानका लागि दाबी गरेमा आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने प्रशासनको भनाइ छ।

यसैबीच, सरकारको निर्णयअनुसार उद्धार तथा राहत कार्यमा सहयोग गर्न चिनियाँ र भारतीय टोली रसुवा र नुवाकोटमा परिचालित भएका छन्। नेपाल सरकारले चीनसँग ३० वटा बेलिब्रिज सहयोग मागेको जनाएको छ भने भारतले पनि उद्धार तथा पुनःस्थापनाका विभिन्न काममा सहयोग गरिरहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !