लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण

लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ९, मंगलवार १५:२२
लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले लुम्बिनी प्रदेशका तीन जना प्रदेशसभा सदस्यसँग पुनः स्पष्टीकरण माग गरेको छ।

पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोषकुमार पाण्डे, लुम्बिनीकी हेमा बेलवासे र बाँकेका भण्डारीलाल अहिरसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

ADVERTISEMENT

जसपा नेपालको केन्द्रीय कार्यालयबाट मंगलबार महासचिव डा. सुरेन्द्रकुमार झाद्वारा हस्ताक्षरित पत्रमार्फत तीनै सांसदलाई स्पष्टीकरण माग गरिएको हो।

पार्टीले भदौ १ गते पत्र पठाउँदै लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको थियो। तर पार्टीको निर्देशनविपरीत तीनै सांसदले सरकारको पक्षमा मतदान गरेपछि यसअघि पनि उनीहरूलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको थियो।

प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनाअनुकूल नदेखिएको र सोधिएका प्रश्नको चित्तबुझ्दो तथा सन्तोषजनक जवाफ नआएको पार्टीले जनाएको छ।

त्यसपछि पार्टी निर्णयको अवज्ञा गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने भन्नेबारे पुनः स्पष्टीकरण माग गरिएको हो। साथै, पार्टीको निर्णयविपरीत सदस्यले कार्य गर्न मिल्ने वा नमिल्नेबारे स्पष्ट धारणा दिन र आफूले गरेको कार्यलाई पार्टी विधानअनुसार कसरी लिनुपर्ने हो भन्ने विषयमा समेत जवाफ मागिएको छ।

पार्टीले २४ घण्टाभित्र केन्द्रीय कार्यालयमा पुनः स्पष्टीकरण पेस गर्न तीनै सांसदलाई निर्देशन दिएको छ।

तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरेमा वा पेस गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टी विधान तथा प्रचलित निर्णयअनुसार आवश्यक अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत पत्रमार्फत दिइएको छ।

जसपा नेपालले पार्टीको नीति, निर्णय र निर्देशन पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको पनि स्मरण गराएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १५:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !