देउवालाई भेट्ने गगनको प्रयास, विवाद समाधान कि शक्ति संघर्ष?

देउवालाई भेट्ने गगनको प्रयास, विवाद समाधान कि शक्ति संघर्ष?
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १३:२६
देउवालाई भेट्ने गगनको प्रयास, विवाद समाधान कि शक्ति संघर्ष?

काठमाडौं : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि बढ्दै गएको नेतृत्व विवाद र पार्टीको आधिकारिकतासम्बन्धी कानुनी लडाइँबीच सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवासँग भेटवार्ताको प्रयास अघि बढाएका छन्।

पार्टीभित्र चुलिँदै गएको मतभेदलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले सभापति थापाले देउवासँग भेटका लागि समय मागेका हुन्। थापाले देउवाका स्वकीय सचिव भानु देउवामार्फत टेलिफोन गरेर भेटको समय मिलाइदिन आग्रह गरेका छन्।

ADVERTISEMENT

तर, हङकङ भ्रमणबाट देउवा फर्किएको करिब दुई साता पुग्न लाग्दासमेत थापाको सचिवालयले मागेको भेटका विषयमा देउवा पक्षबाट औपचारिक जवाफ आइनसकेको बताइएको छ।

हङकङबाट फर्किएपछि देउवाले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा नेतृत्वलाई औपचारिक रूपमा स्वीकार गरेका छैनन्। उनले चुनदेवीस्थित निवासमा सभापतिकै हैसियत झल्किने गरी नेमप्लेट राखेका छन् भने आफूनिकट नेताहरूसँग नियमित राजनीतिक परामर्श गरिरहेका छन्।

विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमिति र १५औँ महाधिवेशनको घोषित कार्यतालिकाप्रति देउवा पक्ष असन्तुष्ट छ। देउवा पक्षले विशेष महाधिवेशन र त्यसबाट भएका निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेको छ।

देउवानिकट नेताहरूका अनुसार सर्वोच्च अदालतमा विचाराधीन पार्टीको आधिकारिकतासम्बन्धी मुद्दाको अन्तिम टुंगो नलागेसम्म देउवा नयाँ पदाधिकारीसँग औपचारिक भेटवार्ता गर्ने पक्षमा छैनन्।

यता सभापति थापाले भने पार्टीभित्रको विवाद अन्त्य गरी कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रयास गरिरहेका छन्। उनले पूर्वपदाधिकारी तथा पार्टीका शीर्ष नेताहरूसँग संवाद र सहमतिमार्फत अघि बढ्ने प्रस्ताव राख्दै आएका छन्।

गगनको भेट प्रयासलाई कतिपय नेताले पार्टीभित्रको विवाद समाधान गर्ने पहलका रूपमा हेरेका छन् भने कतिपयले यसलाई कांग्रेसभित्र जारी शक्ति संघर्ष व्यवस्थापन गर्ने प्रयासका रूपमा विश्लेषण गरेका छन्। अब देउवा–थापा भेट हुन्छ कि हुँदैन भन्ने विषयले कांग्रेसको आगामी राजनीतिक दिशाबारे समेत संकेत गर्ने देखिन्छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १३:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !