दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नूस्: उपसभामुख ठाकुर

दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नूस्: उपसभामुख ठाकुर
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३१, आईतवार १२:१९
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नूस्: उपसभामुख ठाकुर

जनकपुरधाम : प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन्।

धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको शनिबार उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको बताइन्।

ADVERTISEMENT

उनले भनिन्, दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्न आग्रह गर्दछु।

उनले दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनी रूपमा दण्डनीय हुने भएकाले त्यस्तो कार्य नगर्न पनि आग्रह गरिन्।

उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताइन्। दाइजो प्रथाको अन्त्य गर्न र ठाकुर समुदायलाई सामाजिक तथा राजनीतिक रूपमा अगाडि बढाउन सबैले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो।

‘छोरीलाई दाइजो नभई शिक्षा दिनुहोस्, छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,’ उपसभामुख ठाकुरले भनिन्, ‘दाइजो समाजका लागि अभिसाप हो, सबै मिलेर यसको अन्त्य गरौँ।’

छोरी र बुहारीलाई पढ्न प्रोत्साहित गर्नु आवश्यक भएको उनको भनाइ थियो।

कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले उपसभामुख ठाकुरलाई हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीति उत्थानसँगै राज्यको हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न मागपत्र बुझाएका थिए

प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार १२:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !