सरकारप्रतिको अविश्वासले नैराश्यता बढाउँदै लगेको छ: कांग्रेस

सरकारप्रतिको अविश्वासले नैराश्यता बढाउँदै लगेको छ: कांग्रेस
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २६, मंगलवार १९:२६
सरकारप्रतिको अविश्वासले नैराश्यता बढाउँदै लगेको छ: कांग्रेस

काठमाडौँः सरकारप्रति नागरिकको अविश्वासका कारण नैराश्यता बढ्दै गएको नेपाली कांग्रेसले ठहर गरेको छ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता देवराज चालीसेले प्रेस विज्ञप्ति जारी गरी सरकारका क्रियाकलापले नैराश्यता बढ्दै गएको जनाएका छन्। हरेक घटनामा सहमति गर्ने तर कार्यान्यन नगर्ने परिपाटी चिन्ताको विषय भएको जनाइएको छ।

ADVERTISEMENT

‘सरकारले पटकपटक सहमति खोज्ने तर तिनको इमानदार कार्यान्वयनमा तत्परता नदेखाउने प्रवृत्ति आज चिन्ता र चासोको विषय बनेको छ,’ कांग्रेसले भनेको छ, ‘सरकारप्रतिको अविश्वासको यो वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउँदै लगेको छ भने राज्य नागरिकको अभिभावक हो भन्ने विश्वास टुट्दै गएको छ।’

यसलाई गम्भीर रुपमा लिन कांग्रेसले आग्रह गरेको छ। ‘यस गम्भीर स्थितिलाई सरकारले समयमै संवेदनशील भई मनन गरोस्। नेपाली कांग्रेसको यो बैठक सरकारलाई गम्भीर बन्न अनुरोध गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ।

यससँगै कांग्रेसले कप्तानगन्ज घटनाको छानबिनका लागि निष्पक्ष आयोग गठन गर्न माग गरेको छ। न्यायका लागि अनसनमा बसिरहेका विनय यादवको जीवन रक्षा गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

‘निष्पक्ष आयोग गठनको मागसहित सम्झौताको तत्काल कार्यान्वयन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य स्थिति गम्भीर बन्दा समेत सरकारले कुनै चासो नदेखाएकोमा नेपाली कांग्रेस थप गम्भीर र चिन्तित भएको छ,’ कांग्रेसले भनेको छ, ‘अतः नेपाली कांग्रेस यसै विज्ञप्तिमार्फत तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न जोडदार माग गर्दछ।’

प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार १९:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !