संवाद र सहकार्यबाट संकट समाधान गर्न ओलीको आह्वान, शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह

संवाद र सहकार्यबाट संकट समाधान गर्न ओलीको आह्वान, शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १४, बिहीबार १८:०५
संवाद र सहकार्यबाट संकट समाधान गर्न ओलीको आह्वान, शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संवाद, सहमति र राजनीतिक सहकार्यमार्फत वर्तमान जटिलतालाई निकास दिन सबै पक्षसँग अपिल गरेका छन्।

बिहीबार जारी अपिलमा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका र त्यसको प्रभाव सिरहालगायत अन्य स्थानमा फैलिएको हिंसात्मक घटनामा नागरिकको ज्यान गएको तथा धेरै घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

ADVERTISEMENT

ओलीले नागरिकबीचको एकता र सामाजिक सद्भाव राष्ट्रको मुख्य शक्ति भएको उल्लेख गर्दै समाजलाई विभाजित गर्ने प्रयास र भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गरेका छन्। उनले राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई संयम अपनाउँदै शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्थाको संवेदनशील अवस्थामा सरकारले पर्याप्त जिम्मेवारी नदेखाएको आरोप लगाएका छन्। अत्यधिक बल प्रयोग रोक्न र तत्काल संवादमार्फत समस्याको समाधान खोज्न उनले सरकारलाई आग्रह गरेका छन्।

उनका अनुसार मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्न आवश्यक छ।

ओलीले द्वन्द्व र हिंसाबाट कुनै पनि समस्याको समाधान सम्भव नभएको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्य नै देशलाई वर्तमान संकटबाट बाहिर निकाल्ने प्रभावकारी माध्यम भएको बताएका छन्।

अपिलको अन्त्यमा उनले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, धार्मिक तथा सामाजिक समुदायका अगुवालाई राष्ट्रिय हित, सामाजिक सद्भाव र दिगो शान्तिका लागि एकजुट हुन आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १८:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !