बालेनसँग उपसभामुखको बढ्दो निकटता, श्रम संस्कृतिभित्रै बढ्यो असन्तुष्टि

बालेनसँग उपसभामुखको बढ्दो निकटता, श्रम संस्कृतिभित्रै बढ्यो असन्तुष्टि
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ७, बिहीबार १२:२७
बालेनसँग उपसभामुखको बढ्दो निकटता, श्रम संस्कृतिभित्रै बढ्यो असन्तुष्टि

काठमाडौं : उपसभामुख रुबीकुमारी ठाकुर र प्रधानमन्त्री बालेन शाहबीच पछिल्ला महिनायता भइरहेको निरन्तर भेटघाटले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। बुधबार पनि उपसभामुख ठाकुरले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग करिब आधा घण्टा भेटवार्ता गरेकी हुन्। भेटको विषय सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ठाकुर प्रधानमन्त्रीसँग नियमित सम्पर्कमा रहने नेतामध्ये एक हुन्। प्रधानमन्त्रीका आफ्नै मन्त्रीहरूले समेत सहज रूपमा भेट्न कठिन हुने अवस्थामा उपसभामुखको निरन्तर पहुँचलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

ADVERTISEMENT

रुबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट उपसभामुख पदमा उम्मेदवार बनेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनपछि उनी उपसभामुखमा निर्वाचित भएकी हुन्। त्यसबेला संवैधानिक परिषद्को शक्ति सन्तुलनलाई लिएर सरकारभित्र चासो बढेको थियो।

पछिल्ला घटनाक्रममा भने उपसभामुख ठाकुर संवैधानिक परिषद्सम्बन्धी विषयमा प्रधानमन्त्रीसँग सहकार्य गर्दै आएको चर्चा छ। विशेषगरी प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा उनले प्रधानमन्त्रीको पक्षमा उभिएको विषयले श्रम संस्कृति पार्टीभित्रै विवाद उत्पन्न गरेको थियो। पार्टी अध्यक्ष हर्कराज राईले त्यस निर्णयको सार्वजनिक रूपमा आलोचना गरेका थिए।

उक्त निर्णयको आलोचना भइरहेका बेला उपसभामुख यादवले सामाजिक सञ्जालमार्फत कृत्रिम बुद्धिमत्ता (च्याटजिपिटी) को विश्लेषण साझा गर्दै आफ्नो निर्णयको बचाउ गरेकी थिइन्। त्यसयता पनि उनी प्रधानमन्त्री तथा रास्वपाका नेताहरूसँग निरन्तर संवादमा रहेको चर्चा चल्दै आएको छ।

बुधबारको भेटलाई पनि यही राजनीतिक निरन्तरताको रूपमा हेरिएको छ। स्रोतका अनुसार आगामी संवैधानिक परिषद्का निर्णयहरूमा सहज वातावरण बनाउन प्रधानमन्त्री पक्षले उपसभामुखसँग सम्बन्ध सुदृढ राख्न खोजेको विश्लेषण भइरहेको छ। यद्यपि भेटको औपचारिक एजेन्डाबारे दुवै पक्षले कुनै प्रतिक्रिया दिएका छैनन्।

यसबीच उपसभामुख यादवलाई लिएर श्रम संस्कृति पार्टीभित्र असन्तुष्टि पनि बढ्दै गएको देखिएको छ। पार्टीकी केन्द्रीय सदस्य तारा राईले उपसभामुखको सचिवालय सञ्चालन, कर्मचारी नियुक्ति तथा निर्णय प्रक्रियामा पारदर्शिताको अभाव रहेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाएकी छन्।

राईले सचिवालयमा मधेशका कार्यकर्तालाई अवसर दिन गरिएको आग्रह बेवास्ता गरिएको, पार्टी नेतृत्वको निर्देशन कार्यान्वयन नभएको तथा केही सीमित व्यक्तिको प्रभावमा सचिवालय सञ्चालन भएको आरोप लगाएकी छन्। साथै, कर्मचारीहरूलाई पूर्वसूचना नदिई हटाइएको र आफूले हटाइएको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको दाबी पनि गरेकी छन्।

प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार १२:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !