नेपाल फर्कने प्रतिबद्धतासँगै लोकतन्त्रको रक्षाका लागि एकजुट हुन देउवाको आह्वान

नेपाल फर्कने प्रतिबद्धतासँगै लोकतन्त्रको रक्षाका लागि एकजुट हुन देउवाको आह्वान
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ५, मंगलवार १९:१०
नेपाल फर्कने प्रतिबद्धतासँगै लोकतन्त्रको रक्षाका लागि एकजुट हुन देउवाको आह्वान

काठमाडौं : उपचारका लागि भन्दै सिंगापुर र त्यसपछि हङकङ पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा जल्दै नेपाली भूमिमा फर्कने बताएका छन्। बीपी स्मृति दिवसको अवसरमा मंगलबार दुई पृष्ठ लामो वक्तव्य जारी गर्दै उनले छिट्टै नेपाल फर्केर लोकतान्त्रिक आन्दोलन र संविधानवादलाई सुदृढ गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि, उनी नेपाल कहिले आउने भन्नेबारे भने खुलाइएको छैन।

देश चुनावमा होमिएका बेला गत फागुन १७ गते स्वास्थ्य उपचारका लागि भन्दै उनी सिंगापुर उडेका थिए। त्यसअघि भारतमा रहेकी उनकी पत्नी आरजू राणा देउवा पनि उतैबाट सिंगापुर गएकी थिइन्।

ADVERTISEMENT

त्यसपछि देउवा दम्पती हङकङ पुगेर घुमफिर गरेको भिडियोसमेत सार्वजनिक भएको थियो। नेपालमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान जारी रहनुका साथै पक्राउ पुर्जीसमेत जारी भएको छ। हाल उनी कहाँ र कुन अवस्थामा छन् भन्ने स्पष्ट छैन भने उनको यो वक्तव्यमा पनि ठेगाना उल्लेख गरिएको छैन।

देउवा देशबाहिर रहेका बेला यतिबेला नेपाली कांग्रेस विभाजनको डिलमा पुगे पनि उनले आफ्नो वक्तव्यमा पार्टीभित्रको विवादबारे भने केही उल्लेख गरेका छैनन्।

त्यसको सट्टा, वक्तव्यमा लोकतन्त्र, संविधान र संवैधानिक संस्थामाथि दबाब सिर्जना गर्ने प्रवृत्ति बढेको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरेका छन्। स्वतन्त्र न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी विपक्षलाई आतंकित गर्ने औजार बनाउने प्रयास स्वीकार्य नहुने उनको चेतावनी छ।

अहिलेको प्रमुख आवश्यकता लोकतन्त्रको रक्षा, राष्ट्रिय एकता र सहकार्य भएको औंल्याउँदै देउवाका अनुसार नेपाली कांग्रेस अब केवल प्रतिपक्षको भूमिकामा मात्र सीमित नरही लोकतन्त्र, संविधान र नागरिक सुरक्षाको संरक्षण गर्ने ऐतिहासिक जिम्मेवारीमा छ।

विदेशमा रहे पनि आफ्नो मन र चिन्ता देश र जनताप्रति नै केन्द्रित रहेको उल्लेख गर्दै उनले देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास, र प्रतिशोध होइन सहकार्यको खाँचो रहेको बताएका छन्। साथै, लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने गतिविधिविरुद्ध दृढतापूर्वक उभिन राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई उनले एकजुट हुन आह्वान गरेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार १९:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !