नेपालमा बाल यौन दुराचार गर्ने अमेरिकी नागरिक अमेरिकामा पनि दोषी ठहर

नेपालमा बाल यौन दुराचार गर्ने अमेरिकी नागरिक अमेरिकामा पनि दोषी ठहर
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ४, सोमबार १५:४४
नेपालमा बाल यौन दुराचार गर्ने अमेरिकी नागरिक अमेरिकामा पनि दोषी ठहर

काठमाडौं : नेपालमा बाल यौन दुराचारको मुद्दामा नौ वर्ष जेल सजाय भुक्तान गरेर फर्किएका एक अमेरिकी नागरिकलाई अमेरिकी संघीय अदालतले पनि सोही अपराधमा दोषी ठहर गरेको छ।

अमेरिकी न्याय मन्त्रालय (डीओजे) को पब्लिक अफेयर्स कार्यालयले शुक्रबार आफ्नो आधिकारिक वेबसाइटमार्फत ५८ वर्षीय अमेरिकी नागरिक केनेथ जोसेफ कोम्ब्स दोषी ठहर भएको सार्वजनिक गरेको हो।

ADVERTISEMENT

नेपालमा सजाय पूरा गरी अमेरिका फर्किएपछि कोम्ब्सलाई त्यहाँका कानुन कार्यान्वयन अधिकारीहरूले सन् २०२५ सेप्टेम्बरमा पक्राउ गरेका थिए। अमेरिकी न्याय मन्त्रालयका अनुसार अमेरिकी संघीय अदालतले आगामी अक्टोबर २८ मा कोम्ब्सको सजाय निर्धारण गर्ने तय गरेको छ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार कोम्ब्सले सन् २०१६ मा नेपाल बसाइका क्रममा जबरजस्ती, अचेत पार्ने पदार्थको प्रयोग र आर्थिक प्रलोभनमा पारेर आठ जना बालबालिकामाथि यौन दुराचार गरेका थिए।

उनले पीडित बालबालिकाहरूको आपत्तिजनक तस्वीरहरू समेत खिचेका थिए। सो तस्बिर पछि उनको इलेक्ट्रोनिक डिभाइसहरूबाट बरामद गरिएको थियो।

यस प्रकरणको सुरुवात नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट भएको थियो। विकट गाउँहरूबाट बालबालिकालाई तस्करी गरी सहर ल्याउने र विदेशी बाल यौन दुराचारीहरूलाई उपलब्ध गराउने गिरोहमाथि सीआईबीले निगरानी बढाएको थियो।

सोही क्रममा सन् २०१६ सेप्टेम्बर ९ मा सीआईबी टोलीले कोम्ब्स र उनका स्थानीय सहयोगी स्वयम्भू बस्ने २१ वर्षीय बुद्ध पुतुवारलाई काठमाडौंको ठमेलस्थित याम्बु होटलबाट पक्राउ गरेको थियो।

उक्त मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन् २०१७ अप्रिल २३ मा कोम्ब्सलाई नौ वर्ष र पुतुवारलाई चार वर्षको जेल सजाय सुनाएको थियो।

कोम्ब्स विरुद्ध अमेरिकी अदालतमा चलाइएको मुद्दाको अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र नेपाली गैरसरकारी संस्था ‘नयाँ पाइला’ ले अमेरिकी अधिकारीहरूलाई आवश्यक सहयोग पुर्‍याएका थिए।

प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार १५:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !