साक्षर अभियानमा SODCC को प्रयास : अनौपचारिक शिक्षामार्फत २,२०० किशोरी पुनः विद्यालयमा

साक्षर अभियानमा SODCC को प्रयास : अनौपचारिक शिक्षामार्फत २,२०० किशोरी पुनः विद्यालयमा
मधेश पत्र मधेश पत्र २०८३ असार १६, मंगलवार ११:२१
साक्षर अभियानमा SODCC को प्रयास : अनौपचारिक शिक्षामार्फत २,२०० किशोरी पुनः विद्यालयमा

चपुर, असार १६ — मधेश प्रदेशमा विद्यालय छोडेका किशोरीहरूलाई पुनः शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले सञ्चालन गरिएको किशोरी शिक्षा कार्यक्रममार्फत २,२०० जना किशोरी पुनः विद्यालय भर्ना भएका छन्।

स्थानीय तहहरूको सहकार्य तथा युनिसेफ नेपालको आर्थिक सहयोगमा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा (SODCC) ले मधेश प्रदेशका तीन जिल्लाअन्तर्गत १७ वटा पालिकामा सञ्चालन गरेको दोस्रो चरणको किशोरी शिक्षा कार्यक्रमबाट उक्त उपलब्धि हासिल भएको हो। कार्यक्रम अन्तर्गत विद्यालय बाहिर रहेका किशोरीहरूलाई सात महिनासम्म अनौपचारिक शिक्षा प्रदान गरी पुनः विद्यालय भर्ना गराइएको थियो।

ADVERTISEMENT

यस अघि सन् २०२३–२०२५ मा पहिलो चरणमा मधेश प्रदेशका थप दुई जिल्ला सप्तरी र पर्सामा समेत यो कार्य सञ्चालन भएको थियो। कार्यक्रमले विद्यालय छोडेका तथा शिक्षाबाट वञ्चित किशोरीहरूलाई पुनः विद्यालय फर्काउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। मधेश प्रदेशमा विद्यालय बीचमै छोड्ने दर राष्ट्रिय औसतभन्दा उच्च रहेको छ। विशेषगरी किशोरीहरू विद्यालयबाट बाहिरिने क्रम बढी देखिन्छ। अभिभावकमा शिक्षाको महत्वबारे पर्याप्त जानकारीको अभाव, गरिबी, बेरोजगारी तथा सामाजिक कारणहरू यसका प्रमुख कारकका रूपमा रहेका छन्।

यही अवस्थालाई मध्यनजर गर्दै मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने अभियानमा योगदान पुर्‍याउने तथा प्रत्येक बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको SODCC ले जनाएको छ। नेपालको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कानुनी व्यवस्थाअनुसार आधारभूत तहसम्मको शिक्षा प्रत्येक बालबालिकाका लागि अनिवार्य गरिएको छ। साथै, आगामी २०८५ वैशाख १ गतेदेखि आधारभूत शिक्षा पूरा नगरेका बालबालिका भएका परिवारलाई राज्यबाट प्रदान गरिने केही सेवासुविधा रोक्न सकिने कानुनी व्यवस्था समेत रहेको सन्दर्भमा कार्यक्रमले समुदायमा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

कार्यक्रम अन्तर्गत सिराहाको नवराजपुर गाउँपालिका , कल्याणपुर नगरपालिका तथा सर्लाहीको एक पालिकामा सामुदायिक सिकाइ केन्द्रमार्फत रोजगारीसँग जोड्ने पहल पनि सञ्चालन गरिएको छ। उक्त पहलबाट किशोरीहरूका अभिभावकलाई समेत आयआर्जनका अवसर सिर्जना भएको जनाइएको छ।

सन् २०२६ जुन ३० सम्म सञ्चालन भएको दोस्रो चरणको कार्यक्रमको समापन अवसरमा रौतहटको चपुरस्थित गौतम होटलमा आयोजित कार्यक्रममा कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सुपरभाइजर, जिल्ला संयोजक तथा अन्य सरोकारवालाहरूलाई कदरपत्र, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो।कार्यक्रममा UNICEF मधेश प्रदेशकी शिक्षा अधिकृत सजना सुनार, SODCC का अध्यक्ष इब्राहिम देवान, कार्यकारी निर्देशक रुपक पाण्डे लगायतको सहभागिता रहेको थियो।

सो अवसरमा SODCC का अध्यक्ष इब्राहिम देवानले किशोरी शिक्षा कार्यक्रमले शिक्षाबाट वञ्चित बालिकाहरूलाई पुनः विद्यालयसँग जोड्नुका साथै समुदायमा शिक्षाप्रतिको सकारात्मक वातावरण निर्माण गर्न सफल भएको बताए। उनले भने, “शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार हो। विद्यालय बाहिर रहेका किशोरीहरूलाई पुनः शिक्षाको पहुँचमा ल्याउनु केवल भर्ना गराउने कार्य मात्र होइन, उनीहरूको भविष्य सुरक्षित गर्ने अभियान पनि हो। स्थानीय तह, समुदाय र साझेदार संस्थाहरूको सहकार्यले यो अभियानलाई अझ प्रभावकारी बनाएको छ।”देवानले आगामी दिनमा समेत शिक्षाबाट वञ्चित कुनै पनि बालबालिका नरहने वातावरण निर्माणका लागि SODCC निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका सहभागीहरूले किशोरी शिक्षा कार्यक्रमले मधेश प्रदेशमा साक्षरता अभिवृद्धि, बालविवाह न्यूनीकरण तथा किशोरी सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै यस्ता कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति: २०८३ असार १६, मंगलवार ११:२१
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !