जलेश्वर प्रादेशिक अस्पतालमा सर्पदंशका बिरामी बढ्दै, जेठमा मात्रै ५६ जना उपचारका लागि पुगे

जलेश्वर प्रादेशिक अस्पतालमा सर्पदंशका बिरामी बढ्दै, जेठमा मात्रै ५६ जना उपचारका लागि पुगे
मधेशपत्र मधेशपत्र २०८३ असार २, मंगलवार ०७:१०
जलेश्वर प्रादेशिक अस्पतालमा सर्पदंशका बिरामी बढ्दै, जेठमा मात्रै ५६ जना उपचारका लागि पुगे

जलेश्वर :महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सर्पदंशका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। अत्यधिक गर्मीसँगै सर्पको सक्रियता बढेपछि अस्पतालमा दैनिक औसत पाँच जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी रामउदित यादवका अनुसार पछिल्ला दिनमा विषालु र विषरहित दुवै प्रकारका सर्पले डसेका बिरामीहरू अस्पतालमा उपचारका लागि आउने गरेका छन्। विशेषगरी खेतबारी तथा खुला क्षेत्रमा काम गर्ने क्रममा सर्पदंशका घटना बढी हुने गरेको उनले बताए।

ADVERTISEMENT

उनका अनुसार महोत्तरीमा विषरहित ढोरिया र हरहरा सर्प तथा विषालु करेत र गोमन सर्प बढी पाइन्छन्। अधिकांश बिरामी विषरहित सर्पदंशका भए पनि केही गम्भीर अवस्थाका विषालु सर्पदंशका बिरामीसमेत अस्पताल पुग्ने गरेका छन्।

अस्पतालको तथ्याङ्कअनुसार गत वैशाख महिनामा २३ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए। यो संख्या जेठ महिनामा बढेर ५६ पुगेको छ, जसले जिल्लामा सर्पदंशको जोखिम बढ्दो रहेको देखाएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामा गर्मीयामसँगै सर्पदंशको जोखिम उच्च रहने गरेको छ। साथै, सीमावर्ती भारतीय क्षेत्रबाट समेत सर्पदंशका बिरामी उपचारका लागि जलेश्वर प्रादेशिक अस्पताल आउने गरेका छन्।

अस्पताल प्रशासनले सर्पदंश उपचारका लागि आवश्यक एन्टिभेनम (विषरोधक औषधि) पर्याप्त मात्रामा उपलब्ध रहेको जनाएको छ। तर, आइसियु कक्षको अभावका कारण गम्भीर अवस्थाका बिरामीलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ।

स्वास्थ्यकर्मीहरूले गर्मीयाममा विशेष सावधानी अपनाउन, खेतबारी तथा झाडी क्षेत्रमा काम गर्दा सुरक्षाका उपाय अवलम्बन गर्न तथा सर्पले डसेको अवस्थामा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८३ असार २, मंगलवार ०७:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !