मधेश स्वास्थ्य निर्देशनालयमा ‘ब्रहमलुट’ स्पेशिफिकेशन तोकेर सबैभन्दा बढी रकमको ठेक्का कवुल

मधेश स्वास्थ्य निर्देशनालयमा ‘ब्रहमलुट’ स्पेशिफिकेशन तोकेर सबैभन्दा बढी रकमको ठेक्का कवुल
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ जेष्ठ २४, आईतवार १७:०६
मधेश स्वास्थ्य निर्देशनालयमा ‘ब्रहमलुट’ स्पेशिफिकेशन तोकेर सबैभन्दा बढी रकमको ठेक्का कवुल

राज्यलाई पौने दुई करोड घाटा

जनकपुरधाम : मधेश स्वास्थ्य निर्देशनालयमा ‘ब्रहमलुट’ भएको घटना बाहिर आएको छ । स्वास्थ्य निर्देशनालयले स्पेशिफिकेशन तोकेर इच्छाएको आपुर्तीकर्ताको औषधी खरिद ठेक्का कवुल गरेको पाइएको हो ।

ADVERTISEMENT

निर्देशनालयले गएको चैत ३० गते नसर्ने रोग र मानसिक रोग सम्बन्धी औषधी खरिदको लागि बोलपत्र आह्वान गरेका थिए । सोही बोलपत्रमा सार्वजनिक खरिद ऐन विपरीत ठेक्का कबुल गरेको पाइएको छ । उक्त बोलपत्रमा चार वटा आपुर्तीकर्ता कम्पनीले बोलपत्र प्रस्ताव गरेका थिए । द मेडिटेक सोलुसन, काठमाण्डौंले अनुमानित दुई करोड ९० लाख, मेडिसल फर्मा, भरतपुरले तीन करोड ४२ लाख, जी यच मेडिकल चार करोड ७५ लाख र लभ मेडिकलले चार करोड ६६ लाखको अनुमानित बोलपत्र प्रस्ताव गरेका थिए । तर, निर्देशनालयका कर्मचारीहरु आपुर्तीकर्ता लभ मेडिकलसंग सेटिङ्ग गरेर ठेक्का कवुल गरेको आरोप लगाएका छन् । यसले राज्यलाई पौने दुई करोड रुपैयाँ घाटा लागेको छ ।

लभ र जी यचले मात्रै बारम्बार ठेक्का पाउने गरेको कारण अनियमितता र सेटिङ्ग भएको एक आपुर्तीकर्ताले आरोप लगाएका छन् । ‘यो ब्रह्मलुट मधेश प्रदेशमा कहिले सम्म भइरहन्छ ?,’उनले प्रश्न गर्दै भने,‘पटक–पटक यही दुई कम्पनीले कसरी ठेक्का पाउँछन् ? यो छानबिनको विषय हो ।’ उनका अनुसार कर्मचारीहरुले बोलपत्र आह्वान गरेपछि खरिद समितिको बैठक बसेर आपुर्तीकर्तालाई सम्बन्धित कम्पनीको अनुमति पत्र अनिवार्य गर्ने स्पेशिफिकेशन तोकेका थिए । जसकारण बोलपत्रमा प्रतिस्पर्धा हुन सकेनन् ।

विशेष गरी फेनोबार्बिटोन, क्लोरप्रोमाजिन र डाइजीपमसम्बन्धी चार औषधि खरिद प्रक्रियामा उत्पादक कम्पनीको स्वीकृतिपत्र र अन्य कागजातका आधारमा निश्चित आपूर्तिकर्तालाई फाइदा पुग्ने अवस्था सिर्जना गरिएको थियो।र, अहिले त्यही प्रावधानलाई टेकेर अन्य कम्पनीलाई प्राविधिक मूल्याङ्कनबाट बाहिर राखी बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई छनोट गरेका छन् । जबकी अनुमती पत्र कुनै एक कम्पनीले मात्रै पाउने प्रावधान छ ।

प्रधानमन्त्री कार्यालयमा निवेदन

औषधि खरिद गर्न आह्वान गरेको टेन्डर प्रक्रियामा अनियमितता भएको आशंका गर्दै छानबिनको मागसमेत गरिएको छ । यस सम्बन्धमा भ्रष्टाचारविरुद्ध सक्रिय युवाहरूको जेन–जी फोर एन्टी क्रपसन समुहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन् ।

खरिद प्रक्रियामा प्रतिस्पर्धा सीमित गरिएको, पारदर्शितामा प्रश्न उठेको तथा सार्वजनिक खरिदसम्बन्धी मापदण्ड पालना नभएको आशंका व्यक्त गरिएको निवेदनमा उल्लेख गरिएको छ ।

यी समुहले टेन्डर प्रक्रिया, प्राविधिक मूल्याङ्कन, छनोटका आधार, स्वीकृतिपत्र, विश्व स्वास्थ्य संगठनको गुणस्तर प्रमाणपत्र तथा सम्बन्धित कागजातको स्वतन्त्र छानबिन गर्न माग गरेको छ । छानबिन सम्पन्न नहुँदासम्म विवादित खरिद प्रक्रिया, सम्झौता र भुक्तानी रोक्नसमेत आग्रह गरेका छन् ।

निवेदनमा सार्वजनिक खरिद ऐन र प्रचलित कानुनअनुसार दोषी पाइए सम्बन्धित व्यक्ति तथा संस्थामाथि कारबाही गर्न र छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने ती समुहको माग छ । औषधि खरिदजस्तो संवेदनशील क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र गुणस्तर सुनिश्चित हुनुपर्नेमा समूहले जोड दिएको छ । तर, पटक–पटक यी समुहले छानबिनको माग गर्दा निर्देशनालयका कर्मचारीहरु निवेदनसमेत दार्ता गर्न मानेका छैनन् ।

प्रकाशित मिति: २०८३ जेष्ठ २४, आईतवार १७:०६
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !