रास्वपा जनकपुरधाम नगर अधिवेशनमा विधि–पद्धति उल्लंघन भएको जितेन्द्र महासेठको आरोप

रास्वपा जनकपुरधाम नगर अधिवेशनमा विधि–पद्धति उल्लंघन भएको जितेन्द्र महासेठको आरोप
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ २०, बुधबार १९:१२
रास्वपा जनकपुरधाम नगर अधिवेशनमा विधि–पद्धति उल्लंघन भएको जितेन्द्र महासेठको आरोप

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जितेन्द्र महासेठले जनकपुरधाममा जारी नगर अधिवेशनको क्रममा पार्टीको विधि, पद्धति र विधानविपरीत गतिविधि भइरहेको आरोप लगाएका छन् ।

महासेठले बुधबार सार्वजनिक गरेको वक्तव्यमा रास्वपा वैकल्पिक राजनीति, सुशासन र नागरिकको आशा–भरोसाको आधारमा स्थापित भएको पार्टी भएकाले यसको मूल्य र मान्यतालाई अक्षुण्ण राख्नु सबै सदस्यको दायित्व रहेको बताएका छन् ।

ADVERTISEMENT

उनले नगर अधिवेशनको सन्दर्भमा केही व्यक्तिहरूले संकुचित घेराभित्र रहेर वडा सभापतिहरूमाथि विभिन्न प्रकारका दबाब, भ्रम तथा मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । यस्ता गतिविधि पार्टीको मूल मर्म, सिद्धान्त र अवधारणाविपरीत रहेको उनको भनाइ छ ।

महासेठले पार्टीका निष्ठावान र सक्रिय कार्यकर्ताहरूलाई प्रक्रियाबाट बाहिर राख्ने प्रयास भइरहेको उल्लेख गर्दै केही व्यक्तिहरूले संगठनलाई दिग्भ्रमित गर्ने कार्य गरिरहेको आरोप लगाए । उनले अधिवेशनको आडमा आफूलाई बदनाम गर्ने र आफ्नो विरुद्ध भ्रम सिर्जना गर्ने प्रयाससमेत भएको दाबी गरेका छन् ।

“म पदका लागि होइन, पद्धतिका लागि लडिरहेको छु,” महासेठले वक्तव्यमा उल्लेख गरेका छन् । पदलोलुपताले व्यक्ति र संगठनलाई गलत दिशातर्फ लैजाने भन्दै उनले पार्टीभित्र गुटबन्दी र कित्ताकाटको मानसिकता त्याग्न नेता–कार्यकर्तासँग आग्रह गरेका छन् ।

उनले विधि, विधान र आन्तरिक लोकतन्त्रको पालना भए मात्र पार्टी, समाज, नगर र देशको हित हुने जिकिर गर्दै परिवर्तनको एजेन्डालाई व्यक्तिगत स्वार्थ र गलत राजनीतिक अभ्यासका कारण कमजोर हुन नदिन सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

महासेठले रास्वपाभित्र विधिको शासन र आन्तरिक लोकतन्त्रको संरक्षणका लागि आफू सदैव अडिग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

रास्वपा जनकपुरधाम नगर अधिवेशनका विषयमा महासेठले उठाएका आरोपबारे पार्टीको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ ।

प्रकाशित मिति: २०८३ जेष्ठ २०, बुधबार १९:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !