मधेश स्वास्थ्य निर्देशनालयमा ‘सेटिङ’ को आशंका, न्यून दर प्रस्ताव गर्ने फर्म बाहिरिए

मधेश स्वास्थ्य निर्देशनालयमा ‘सेटिङ’ को आशंका, न्यून दर प्रस्ताव गर्ने फर्म बाहिरिए
सुरेन्द्र यादव सुरेन्द्र यादव २०८३ जेष्ठ २२, शुक्रबार १२:२४
मधेश स्वास्थ्य निर्देशनालयमा ‘सेटिङ’ को आशंका, न्यून दर प्रस्ताव गर्ने फर्म बाहिरिए

जनकपुरधाम : दरबन्दीअनुरूपको सेवासमूह विपरीत मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयमा स्वास्थ्य शिक्षा समूहका अधिकारीलाई निर्देशक बनाइएको छ।

स्वास्थ्य शिक्षा समूहका एघारौँ तहका अधिकृत सरोजचन्द्र न्यौपानेलाई हेल्थ इन्सपेक्सन समूहको दरबन्दी रहेको निर्देशक बनाइएको हो।

ADVERTISEMENT

न्यौपाने गत एक वर्षदेखि स्वास्थ्य निर्देशनालयका प्रमुखका रूपमा कार्यरत छन्। फरक सेवा समूहका कर्मचारी निर्देशक हुँदा निर्देशनालयका कामकाज प्रभावकारी हुन सकेका छैनन्।

सरकारका स्वास्थ्य तथा जनसँख्या मन्त्रालय सम्बद्ध अन्य निकायले गर्नुपर्ने काम निर्देशनालयले गरिरहेको छ।

मातहतका स्वास्थ्य निकाय तथा प्रदेशका स्वास्थ्य सम्बन्धी कार्यक्रमको अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन गर्ने तथा तिनमा गुणस्तरवृद्धिसहित प्रभावकारिता ल्याउन जिम्मेवार निर्देशनालय निर्देशकमा न्यौपानेको पदस्थापनसँगै सार्वजनिक खरिदको प्रक्रिया तीव्र बनाइएको छ। प्रदेशमा स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र छ।

निर्देशनालयले सार्वजनिक खरिदमा प्रतिस्पर्धालाई सीमित गर्नेगरी स्पेक लक गर्दैआएको छ। जसले गर्दा न्युन दरमा ठेक्का कबोल गर्न खोज्नेहरू निरुत्साहित हुँदैआएका छन्।

खरिद प्रतिस्पर्धामा सामेल भेन्डरले प्रिबिड लगायतका चरणमा संशोधनका लागि निवेदन दिए पनि बलात् बढी रकम कबोल गरेका पक्षलाई टेन्डर प्रक्रिया अघि बढाइएको छ।

निर्देशनालयले नसर्ने रोगका लागि औषधि खरिदका लागि निर्देशनालयले ४ करोड ६६ लाख २५ हजार ५० रुपैयाँको टेन्डर लभ मेडिकल हललाई ठेक्का दिइएको छ। जबकि त्यस प्रतिस्पर्धामा रहेका र न्यून रकम कबोलेका दुई फर्महरूलाई प्राविधिक प्रस्तावबाटै बाहिर गरिएको छ।

प्रतिस्पर्धामा सामेल भएकाहरूले आफूहरूले बिड संशोधनका लागि दिइएका निवेदन निर्देशनालयले स्वीकार नगरेको आरोप लगाए। निर्देशनालयका कर्मचारीहरूले विभिन्न निहुँमा त्यस्ता निवेदन दर्ता नमानेको उनीहरूको भनाइ छ।

आफ्नो नाउँ नछाप्ने शर्तमा एक भेन्डरले भने, ‘निर्देशक न्यौपाने प्रायःजसो कार्यालय बाहिर नै रहन्छन्। कर्मचारीहरूले उनी कार्यक्रममा गएका र उनी नहुँदा निवेदन दर्ता नगर्ने भन्दै पन्छाइरहेका छन्।’

निर्देशक न्यौपाने मदिरापानका सौखिन अधिकारी हुन्। कार्यालय समयमा समेत मदिरापान गर्ने र मदिरापान गर्न नै कार्यालय नपुग्ने उनको बानी रहेको निर्देशनालयका कर्मचारीहरू बताउँछन्।

केही समयअघि मदिरापान गरेर एउटा कायर्यक्रममा प्रदेशको राजनीतिक नेतृत्वका विषयमा अपमानजनक अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए।

तर, त्यसबेला निर्देशनालयका लेखा अधिकृत जितेन्द्र यादवले आफ्नो राजनीतिक तथा व्यापारिक प्रभाव उपयोग गरी न्यौपानेलाई कारबाही हुनबाट जोगाएका थिए। घटनाका बेला तत्कालीन स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिँह कोइरीले मन्त्रालयमै बोलाएर सचेत गराएका थिए।

निर्देशक न्यौपानेले सामग्री खरिदका लागि प्रतिस्पर्धा खुला नै गरिएको बताए। तर, उनले खरिद प्रक्रियामा सामेल भएकाहरूले गर्न खोजेका निवेदन दर्ताबारे टिप्पणी गर्न चाहेनन्।

निर्देशक न्यौपानेलाई यसअघि नै स्वास्थ्य शिक्षा समूहको दरबन्दी भएको प्रदेश स्वास्थ्य तालिम केन्द्र बारा पठाउन खोजिएको थियो। तर, प्रदेशमा एघारौँ तहका कर्मचारी अरू नै नभएको भन्दै उनलाई त्यही यथावत् राखिएको छ।

न्यौपानेलाई निर्देशनालयका निर्देशकका रूपमा कामकाजमा खटाइएको छ। कामकाजका लागि एक वर्षमा अधिकतम तीन महिना हुन्छ। तर, निर्देशक न्यौपाने गत एक वर्षदखि निरन्तर निर्देशक छन्।

प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा।प्रमोदकुमार यादवले एघारौँ तहका कर्मचारीको व्यवस्थापन गर्ने अधिकार मन्त्रिपरिषद्को रहेको बताए।

उनले निर्देशनालयमा एघारौँ तहका कर्मचारी नभएकाले बाहिरबाट फरक समूहका कर्मचारी पठाइएको जानकारी दिए।

प्रकाशित मिति: २०८३ जेष्ठ २२, शुक्रबार १२:२४
सुरेन्द्र यादव

सुरेन्द्र यादव

लेखक


तपाईको प्रतिक्रिया !