हुलाकी राजमार्ग पोखरीया टोलमा अतिक्रमणले बढायो दुर्घटनाको जोखिम, मेयर वकिल र आलम मौन

हुलाकी राजमार्ग पोखरीया टोलमा अतिक्रमणले बढायो दुर्घटनाको जोखिम, मेयर वकिल र आलम मौन
अभिमनु पटेल अभिमनु पटेल २०८२ पुष २४, बिहीबार २०:५५
हुलाकी राजमार्ग पोखरीया टोलमा अतिक्रमणले बढायो दुर्घटनाको जोखिम, मेयर वकिल र आलम मौन

रौतहट : रौतहट जिल्लाको परोहा नगरपालिका र राजपुर नगरपालिकाको संयुक्त वडाभित्र पर्ने पोखरीया दमार टोलस्थित हुलाकी राजमार्ग गम्भीर अतिक्रमणको चपेटामा परेको छ। सडकको दायाँ–बायाँ अतिक्रमण हुँदा बाटो साँघुरो बन्दै जाँदा उक्त क्षेत्र दुर्घटनाको उच्च जोखिममा पुगेको स्थानीयले गुनासो गरेका छन्।

स्थानीयका अनुसार सडक पेटी अतिक्रमण गरी पराल, दाउरा, सवारीसाधन, बालुवा, गिट्टी, इँटा तथा माटो थुपारिएको छ। कतिपय स्थानमा त सडक क्षेत्रमा नै घर निर्माण गरिएको छ। यसले राष्ट्रिय महत्वको हुलाकी राजमार्गमा सवारी आवागमन अवरुद्ध हुनुका साथै पैदलयात्रीको जीवनसमेत जोखिममा परेको छ।

ADVERTISEMENT

पहिले नै ‘अति दुर्घटनाग्रस्त क्षेत्र’का रूपमा चिनिँदै आएको पोखरीया दमार टोलमा अतिक्रमण बढ्दै जाँदा दुर्घटनाको सम्भावना झनै बढेको स्थानीयको भनाइ छ। तर परोहा नगरपालिकाका मेयर शेख वकिल र राजपुर नगरपालिकाका मेयर राजीक आलमले अतिक्रमण हटाउने विषयमा कुनै ठोस पहल नगरेको आरोप लागेको छ।

स्थानीयवासीहरूका अनुसार अतिक्रमणकारीहरू आफ्नै भोट बैंक भएकै कारण दुवै मेयर सडक व्यवस्थापनमा उदासीन देखिएका हुन्। “सडक नै कब्जा भएको स्थानमा भोलि ठुलो दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ?” भन्दै स्थानीयले प्रश्न उठाएका छन्।

हुलाकी राजमार्गजस्तो राष्ट्रिय महत्वको सडकमा खुलेआम अतिक्रमण भइरहँदा सम्बन्धित निकायको मौनताले चिन्ता बढाएको स्थानीयको गुनासो छ। उनीहरूले तत्काल अतिक्रमण हटाई सडकलाई वास्तविक अर्थमा हुलाकी राजमार्गको स्वरूप दिन स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सडक विभागको ध्यानाकर्षण गराउँदै आएका छन्।

तर समयमै ठोस कदम नचालिए भविष्यमा हुने ठुलो दुर्घटनाले जनधनको क्षति मात्र होइन, सम्बन्धित जनप्रतिनिधि र निकायमाथि गम्भीर प्रश्न उठाउने निश्चित देखिएको स्थानीयको चेतावनी छ।

प्रकाशित मिति: २०८२ पुष २४, बिहीबार २०:५५
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !