रास्वपाको चुनावी प्रचारमा हिँडेको जीपबाट मदिरा र चामल बरामद, दुई जना पक्राउ

रास्वपाको चुनावी प्रचारमा हिँडेको जीपबाट मदिरा र चामल बरामद, दुई जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १८, सोमबार १९:१५
रास्वपाको चुनावी प्रचारमा हिँडेको जीपबाट मदिरा र चामल बरामद, दुई जना पक्राउ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जीपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद गरेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१, सल्लीबजारबाट चालकसहित एक जनालाई पक्राउ गरिएको हो । सल्लीबजारबाट सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जीप जाँच गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार जीप चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र जीपमा सवार ३७ वर्षीय मोहन बीसीलाई नियन्त्रणमा लिइएको हो । जीपमा निर्वाचनलक्षित सामग्री रहेको आशंकामा जाँच गर्दा चामल, खानेतेल र मदिरा फेला परेको उनले बताए ।

प्रहरीका अनुसार जीपबाट २५ केजीका दुई बोरा चामल, ‘गोल्ड डायमण्ड’ लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन ‘रकस्टार’ बियर र तीन कार्टुन खानेतेल बरामद गरिएको छ । बरामद सामग्री र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले भने जीपमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको रहेको दाबी गरेका छन् । “प्रचारप्रसारमा हिँडेको गाडीमा सामान राख्नु व्यापारीको गल्ती हो,” उनले भने ।

प्रकाशित मिति: २०८२ फाल्गुन १८, सोमबार १९:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !