जनमतको निर्णायक सहयोगमा मिर्चैयाको बजेट पारित, एमाले–कांग्रेसको अवरोध तोडियो

जनमतको निर्णायक सहयोगमा मिर्चैयाको बजेट पारित, एमाले–कांग्रेसको अवरोध तोडियो
मधेशपत्र मधेशपत्र २०८२ असार ९, सोमबार १७:२९
जनमतको निर्णायक सहयोगमा मिर्चैयाको बजेट पारित, एमाले–कांग्रेसको अवरोध तोडियो

सिरहा : मिर्चैया नगरपालिकाको १५ औं नगरसभा राजनीतिक रस्साकस्सीबीच जनमत पार्टीको निर्णायक सहयोगपछि सम्पन्न भएको छ। एमाले र नेपाली कांग्रेसको असहयोगका कारण रोकिएको नगरको वार्षिक बजेट जनमत पार्टीको समर्थनले पारित भएको हो।

नगरसभाको प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले संघीयता र लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि स्थानीय तहहरू सशक्त र सक्षम हुनुपर्नेमा जोड दिए। संविधानले दिएको अधिकारअनुसार स्थानीय सरकारले योजना निर्माण र कार्यान्वयन स्वतन्त्र रूपमा गर्न पाउनुपर्ने उनको भनाइ थियो।

ADVERTISEMENT

“स्थानीय सरकारले आफ्ना काम गर्न पाउने संवैधानिक व्यवस्था छ,” मन्त्री यादवले भने, “तर योजना निर्माणमै अवरोध हुनु दुर्भाग्यपूर्ण हो। संघीयतालाई कमजोर देखाउने नियोजित प्रयास रोक्नुपर्छ।”

नगरसभा सम्बोधनमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा मिर्चैयाका युवा नेता रामेश्वर यादवले एमाले र कांग्रेसको कारण बजेट रोकिएको दाबी गरे। “संघीयता र गणतन्त्र मन नपर्ने तत्वहरूले योजनाबद्ध रूपमा स्थानीय तह असफल बनाउने खेल खेलिरहेका छन्,” उनले भने, “बजेट पास गर्न ३३ मत चाहिन्थ्यो, माओवादीसँग २९ मात्र थियो। जनमत पार्टीका पाँच जनप्रतिनिधिले पक्षमा मत दिँदै विकासको ढोका खोलिदिए।”

नेता यादवले बजेट पास हुन नसकेको खण्डमा प्रशासनिक कामकाज पूर्ण रूपमा ठप्प हुने अवस्था आउन सक्ने बताउँदै जनप्रतिनिधिहरूले जनहितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । “हामी शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकता दिनेछौं,” उनले भने, “राजनीतिक स्वार्थका लागि नगरको भविष्य अन्धकारतिर धकेल्ने प्रयास भयो, तर जनमतले नागरिकको पक्षमा ठोस निर्णय गर्‍यो।”

पारित बजेटले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, कृषि, युवा तथा रोजगारीलाई प्राथमिकतामा राखेको छ। बजेट नपासिएको खण्डमा यी क्षेत्रका कार्यक्रमहरू प्रभावित हुने जोखिम रहेको थियो।

नगरसभामा नगरप्रमुख श्रावण कुमार यादव, उपप्रमुख, वडा अध्यक्षहरू, कर्मचारी, विभिन्न दलका प्रतिनिधि, नागरिक समाजका सदस्य र सञ्चारकर्मीहरूको पनि उपस्थिति थियो। सभापछि जनमत पार्टीको निर्णयको व्यापक चर्चा भएको छ। स्थानीय बासिन्दाहरूले “विकासको बाटो खुलेको” भन्दै खुसी व्यक्त गरेका छन्।

कतिपयले जनमत पार्टीको भूमिकालाई ‘नगर हितको साहसी निर्णय’ भनेका छन् भने कतिपयले ‘राजनीतिक परिपक्वता र चातुर्यता’को रूपमा व्याख्या गरेका छन्।

 

प्रकाशित मिति: २०८२ असार ९, सोमबार १७:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !