रघुनाथ ठाकुरको ४५औं स्मृति दिवस: ओझेलमा पारिएका मधेश राजनीतिका ‘महामानव’

रघुनाथ ठाकुरको ४५औं स्मृति दिवस: ओझेलमा पारिएका मधेश राजनीतिका ‘महामानव’
मधेश पत्र मधेश पत्र २०८३ असार ७, आईतवार २२:१४
रघुनाथ ठाकुरको ४५औं स्मृति दिवस: ओझेलमा पारिएका मधेश राजनीतिका ‘महामानव’

जनकपुरधाम: मधेश आन्दोलन र राजनीतिक चेतनाका मार्गदर्शक, अमर शहीद रघुनाथ ठाकुरको ४५औं स्मृति दिवसको अवसरमा जनकपुरधामको जनक चोकमा सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मधेश महासभाको आयोजनामा भएको उक्त कार्यक्रममा राजनीतिकर्मी, बौद्धिक वर्ग, युवा अभियन्ता र सञ्चारकर्मीहरूले शहीद ठाकुरको योगदानको स्मरण गर्दै वर्तमान मधेशी नेतृत्वको अकर्मण्यताप्रति गम्भीर चिन्ता व्यक्त गरे।

ADVERTISEMENT

कार्यक्रममा बोल्ने वक्ताहरूले रघुनाथ ठाकुरलाई केवल एक शहीदका रूपमा मात्र नभई मधेशको हक-अधिकार, पहिचान र स्वाभिमानको जग बसाल्ने वैचारिक निष्ठाको प्रतिकका रूपमा चित्रण गरे।

सडक अन्तरक्रियामा आफ्नो प्रखर धारणा राख्दै मधेश महासभाका संस्थापक बीपी साहले वर्तमान मधेशी दल र तिनका शीर्ष नेताहरूमाथि कडा आक्रोश पोखे। “मधेश राजनीतिका वास्तविक संस्थापक नै रघुनाथ ठाकुर हुन्,” साहले भने, “तर विडम्बना! आज तिनै ठाकुरको राजनीतिक एजेन्डा र क्रान्तिकारी विचारधारालाई सत्तामा पुग्ने भर्‍याङ बनाइयो। नेताहरूले उहाँकै नाम र मुद्दा बेचेर कुर्सी त पाए, तर सत्ताको न्यानोमा पुगेपछि ठाकुरको योगदान र आदर्शलाई चटक्कै बिर्से।”

मधेशको समकालीन राजनीति गलत दिशामा गइरहेको उल्लेख गर्दै साहले अब पुराना ढर्राबाट आन्दोलन अघि बढ्न नसक्ने स्पष्ट पारे। “अहिलेका स्थापित मधेशी दलहरूलाई मधेशकै जनताले पूर्ण रूपमा अस्वीकृत गरिसकेका छन्। त्यसैले अब मधेशका मुद्दाहरूमाथि पुनरविचार हुनुपर्छ। पुराना मागहरूलाई समयसापेक्ष परिमार्जन र परिष्कृत गर्दै मधेशको राजनीतिमा एउटा नयाँ, स्वच्छ र क्रान्तिकारी सुरुवातको खाँचो छ,” साहले थपे।

“मधेशको इतिहासमा रघुनाथ ठाकुर यस्ता बौद्धिक र क्रान्तिकारी व्यक्तित्व हुन्, जसले राज्यको विभेदकारी नीतिविरुद्ध संगठित र वैचारिक रूपमा पहिलो पटक आवाज बुलन्द गरेका थिए।” साहले भने, “ मधेशको माटोमा जन्मिएका ठाकुर अध्ययनशील र दूरदर्शी नेता थिए। तत्कालीन पञ्चायती व्यवस्थाको कठोर दमनका बीच पनि उनले मधेशी समुदायको नागरिक अधिकार, भाषिक समानता र प्रशासनिक प्रतिनिधित्वका लागि आवाज उठाए।”

मधेश प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. सोहन साहका अनुसार ठाकुरले मधेशको मागलाई भावनात्मक मात्र नभई बौद्धिक रूपमा संस्थागत गरे। डा. साह भन्छन्, “शहीद ठाकुरले मधेशका लागि प्रमुख तीनवटा ऐतिहासिक काम गर्नुभयो। पहिलो, मधेशका मुद्दाहरूलाई संस्थागत गर्न लिखित दस्तावेज र पुस्तकहरू तयार पार्नुभयो। दोस्रो, उहाँ नै त्यस्तो पहिलो व्यक्ति हुनुहुन्थ्यो जसले मधेशको उत्पीडन र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुभयो। र तेस्रो, सिंगो मधेश आन्दोलनलाई वैचारिक जगमा संस्थागत गर्ने काम उहाँले नै गर्नुभयो।”

वि.सं. २०३७ असारमा उनको रहस्यमय र दुःखद अवसान भयो। मधेशी अधिकारको पक्षमा निरन्तर वकालत गरेकै कारण तत्कालीन शासक वर्गको कोपभाजनमा परी उनले ज्यान गुमाउनुपरेको इतिहास छ। उनको यही बलिदानले उनलाई ‘अमर शहीद’ र मधेशको ‘महामानव’का रूपमा स्थापित गर्‍यो।

अन्तरक्रियामा युवा नेता बिरेन्द्र यादवले वर्तमान नेतृत्वको आलोचना गर्दै अब युवाहरू नै अग्रसर हुनुपर्ने समय आएको बताए। “आजका प्रमुख मधेशी नेताहरूले राजनीति के हो र मधेशको मुद्दा के हो भन्ने कुरा शहीद ठाकुरकै विचारबाट सिकेका हुन्,” यादवले भने, “ठाकुर मधेशका महामानव हुन् र उहाँको विचारको ऊर्जा आज पनि उत्तिकै सान्दर्भिक छ। अब मधेशी युवाहरू पुराना नेताहरूको स्वार्थको पछि लाग्नु हुँदैन।”

यादवले अगाडि थपे, “अब मधेश महासभाको अगुवाइमा सम्पूर्ण देशभक्त र क्रान्तिकारी युवाहरू एकजुट हुनुपर्छ। हामीले एउटा संयुक्त र सशक्त राजनीतिक धार निर्माण गरेर रघुनाथ ठाकुरको अधुरो सपना र विचारलाई साकार पार्न अगाडि बढ्नुपर्छ।”

मधेश पत्रका संचालकसमेत रहेका सञ्चारकर्मी मनोज कुमार मोरबैताले सञ्चालन गरेको उक्त स्मृति सभामा विभिन्न राजनीतिक दल आबद्ध युवाहरूका साथै स्वतन्त्र बौद्धिक व्यक्तित्वहरूको उपस्थिति थियो।

जनक चोकमा भेला भएका सहभागीहरूले शहीद रघुनाथ ठाकुरको तस्बिर अगाडि मैनवती बालेर श्रध्दान्जली दिएका थिए।

सडकबाट सुरु भएको यो बहसले वर्तमान मधेशी नेतृत्वलाई आत्मालोचना गर्न र युवाहरूलाई नयाँ विकल्पको खोजी गर्न स्पष्ट सन्देश दिएको छ।

प्रकाशित मिति: २०८३ असार ७, आईतवार २२:१४
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !