पर्यटन क्षेत्र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

पर्यटन क्षेत्र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २५, मंगलवार २३:१२
पर्यटन क्षेत्र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

महोत्तरी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यटन क्षेत्र समृद्धिको मुख्य आधार रहेको बताउनुभएको छ ।

बर्दिबासमा आज साँझ होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका प्रतिनिधिलगायत व्यवसायीसँग भेटघाट कार्यक्रममा उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र मुख्य आधार हुने र यसको रूपान्तरणका लागि सबै क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

“मुलुकको आर्थिक समृद्धिका लागि कृषि, जलस्रोत र पर्यटन मुख्य आधार हुन्”, अध्यक्ष दाहालले भन्नुभयो, “यी क्षेत्रको विकासका लागि अब परम्परागत नभइ अत्याधुनिक प्रविधिसहितको विकास आवश्यक छ ।” पछिल्ला दिनमा सूचना प्रविधि र विज्ञानका क्षेत्रमा भइरहेका नवीनतम विकासबाट लाभ लिने गरी नेपाल अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

मधेशकै मध्यविन्दुमा पर्ने बर्दिबास क्षेत्र र यहाँ पर्यटन विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले आपूm सरकारमा रहँदा यसक्षेत्रका सम्भावित पर्यटकीय विकासका क्षेत्रमा नयाँ कामको थालनी गर्ने प्रयास गरेको बताउनुभयो ।

त्यस अवसरमा व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले बर्दिबास–३ पाटुमा पत्ता लागेको मध्यपाषण युगकालीन हतियार कारखाना, राइमण्डलधाम क्षेत्र, गिद्धबास, सिद्धगुफा, पञ्चधुरा माइमन्दिर, टुटेश्वरनाथ र चनौटेडाँडासहितका पर्यटकीय ठाउँमा आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्यानाकर्षण गराउनुभयो । यी ठाउँमा पर्यटन प्रवर्द्धनका काम हुनसके सिङ्गो मधेश प्रदेशकै पर्यटन विकासले गति लिने धारणा राख्नुभयो ।

कार्यक्रममा बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बर्दिबासमा पर्यटन पूर्वाधार विकासका लागि राज्यले गर्नुपर्ने कामबारे सहजीकरणका लागि पूर्वप्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार २३:१२

तपाईको प्रतिक्रिया !