ग्रामीण क्षेत्रमा सामुदायिक क्याम्पस स्थापना भएसँगै स्थानीय खुशी

ग्रामीण क्षेत्रमा सामुदायिक क्याम्पस स्थापना भएसँगै स्थानीय खुशी
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १७, सोमबार २३:२४
ग्रामीण क्षेत्रमा सामुदायिक क्याम्पस स्थापना भएसँगै स्थानीय खुशी

गोलबजार : सिरहाको बरियारपट्टी गाउँपालिकामा अवस्थित हुलाकी बहुमुखी क्याम्पसमा यस शैक्षिक वर्षदेखि स्नातक तहमा बिबिएको अध्ययन सञ्चालन हुने भएपछि स्थानीय खुशी भएका छन् । जिल्लाको दक्षिणी ग्रामीण भेगमा रहेका रहेका बरियारपट्टी बजारमा स्थानीयले समुदायस्तरमा चन्दा सङ्कलन गरी हुलाकी बहुमुखी क्याम्पस स्थापना गरेका हुन् ।

अब घरबाटै बिबिए पढ्न पाइने भएपछि यस भेगका विद्यार्थी उत्साहित भएका छन् । बरियारपट्टी गाउँपालिले गाउँसभाबाट क्याम्पस सञ्चालन, व्यवस्थापनका लागि रु एक करोड बिनयोजन गरेको गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले बताउनुभयो । उहाँले क्याम्पसको वृद्धि विकासमा गाउँपालिकाको निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बिबिए अध्यन सञ्चालनका लागि हुलाकी बहुमुखी क्याम्पसले राजर्षी जनक विश्वविद्यालय जनकपुरधामबाट सम्बन्धन स्वीकृती पाइएको हो । बरियारपट्टी गाउँपालिका–२ का वडा अध्यक्ष बिनोदकुमार यादवले विद्यार्थीलाई पठनपाठन गर्न सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला लहान, सिरहा, मिर्चैया गोलबजार बाहिरी ठाउँमा अध्ययन गर्न जाँदा कोठा भाडा लिनुपर्ने हुन्थ्यो, त्यस कारण अभिभावकलाई आर्थिक भार बढी हुन्थ्यो, अब आर्थिक भार कम हुनेभयो ।”

विष्णुमहायज्ञ आयोजना समितिका कोषाध्यक्ष प्रध्यापक उमेशप्रसाद साहले बरियारपट्टीका जनतालै सजाएको सपना विस्तारै साकार हुँदै गएको बताउनुभयो । क्याम्पस सञ्चालन गर्न बरियारपट्टीमा विष्णु महायज्ञको आयोजना गरिएको थियो । महायज्ञबाट रू एक करोड ४२ लाख सङ्कलन भएको थियो ।

क्याम्पस सञ्चालन गर्न दुई बिघाह तीन कठ्ठा जग्गा रू ५६ लाखमा खरिदसमेत भइसकेको छ । क्याम्पसको आफ्नै भवन नभएकाले तत्काल गाउँपालिकाको व्यवस्थापनमा श्री जनता माध्यमिक विद्यालयले प्रविधिक शिक्षा पढाइ गर्ने भएको छ । साबिक बरियारपट्टी, तेनसवापट्टी, जानकीनगर, कचनारी, जिझौल गाविस मिलेर बरियारपट्टी गाउँपालिका भनेको हो । यो हुलाकी क्याम्पस स्थापनाले जिल्लाको सुखिपुर नगरपालिका औरही गाउँपालिका, नवराजपुर गाउँपालिका छात्र, छात्राले प्रत्यक्ष लाभ पाउने भएका छन् ।

प्रकाशित मिति: २०८१ भाद्र १७, सोमबार २३:२४

तपाईको प्रतिक्रिया !