सर्लाहीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति

सर्लाहीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १५, शनिबार १६:३६
सर्लाहीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति

सर्लाही : बेमौसमी वर्षाका कारण सर्लाहीका किसानको मेहनत पानीमै बगेको छ। भित्र्याउने तयारीमा रहेका धानबालीमा लगातारको झरीले ठूलो क्षति पुर्‍याएको हो।

बरहथवा नगरपालिका–१४, हरिपूर्वाका किसान विन्देश्वर रायका अनुसार बिहीबारदेखि परेको झरीका कारण खेतमा काटेर राखिएको धान भिजेपछि उम्रिन र कुहिन थालेको छ। “एक विघा खेतको धान काटेर राखेको थिएँ, तर झरीका कारण धेरै भाग बिग्रिसक्यो,” उनले दुःखेसो पोख्दै भने।

ADVERTISEMENT

लगातारको वर्षाले किसानहरू समस्यामा परेको किसान विनोद यादवले बताए। “भित्र्याउने समयमा पानी परेपछि मन अमिलो भएको छ,” उनले भने। यहाँका अधिकांश किसानले गत मङ्गलबार मात्रै धान काटेका थिए, तर सुकाउने तयारी भइरहेकै बेला परेको झरीले सबै योजना बिगारेको उनीहरूको भनाइ छ।

यसअघि आएको बाढी र हावाहुरीले पनि धानबाली लडाएको थियो। अहिले फेरि परेको झरीले खेतमा पानी जम्दा धान डुब्ने र कुहिने समस्या थपिएको किसानहरूको गुनासो छ। बागमती नगरपालिका–११ का किसान यज्ञ धिमालका अनुसार “बोटमै धान झर्ने, जमिन गलेपछि बोट लड्ने अवस्था” सिर्जना भएको छ।

बागमती नगरपालिका कृषि शाखाका प्राविधिक हिमाल शाहीले पनि लगातारको वर्षाले उत्पादनमा ठूलाे असर पारेको बताए। जिल्लाको अधिकांश क्षेत्रमा परेको झरीका कारण किसानले भित्र्याउन ठिक्क पारेको धान नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए।

उनका अनुसार यस वर्ष जिल्लामा झण्डै ८० प्रतिशत मात्र धान रोपाइँ भएको थियो, त्यसमा पनि ढिलो रोपाइँका कारण उत्पादन घट्ने अनुमान गरिएको थियो। अब आएको बेमौसमी वर्षाले किसानको अपेक्षा र मेहनत दुवैमा ठूलाे प्रहार गरेको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १५, शनिबार १६:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !