खेलकुदले युवामा एकता र अनुशासन ल्याउँछ : नेता साहु

खेलकुदले युवामा एकता र अनुशासन ल्याउँछ : नेता साहु
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १२, बुधबार २०:५१
खेलकुदले युवामा एकता र अनुशासन ल्याउँछ : नेता साहु

जनकपुरधाम : जनमत पार्टीका नेता दिनेश साहुले खेलकुदले युवामा एकता, अनुशासन र सहयोगको भावना विकास गर्ने बताएका छन्।

बुधबार धनुषाको औरही गाउँपालिका–४ मा रामजानकी युवा क्लबद्वारा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिसमेत रहेका नेता साहुले युवालाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन खेलकुदको भूमिका महत्त्वपूर्ण रहेको बताए।

ADVERTISEMENT

नेता साहुले भने, “आजको युवा पुस्ता देशको मेरुदण्ड हो। उनीहरूलाई नकारात्मक बाटोबाट टाढा राख्न खेलकुदजस्तो सकारात्मक क्रियाकलाप अत्यावश्यक छ। खेलले शरीर मात्र होइन, विचार र व्यवहार पनि स्वस्थ बनाउँछ। यस्ता प्रतियोगिताले गाउँस्तरमै प्रतिभा पहिचान गर्न, नेतृत्व विकास गर्न र सहकार्यको भावना बलियो बनाउँछ। स्थानीय सरकार र समुदायले पनि यस्ता आयोजनालाई निरन्तर सहयोग गर्नुपर्छ, तब मात्र हाम्रो समाज सशक्त र अनुशासित बन्न सक्छ,” उनले जोड दिए।

उनका अनुसार खेलकुदले युवामा नेतृत्व क्षमता, धैर्य र आपसी समझदारी अभिवृद्धि गर्छ, जसले समाजमा एकता र प्रगतिको बाटो खोल्छ।

उक्त प्रतियोगिताको फाइनल खेलमा बौहरबा टिमले औरहीलाई पराजित गर्दै उपाधि हात पारेको छ।

२० ओभरको खेलमा बौहरबाले पहिलो ब्याटिङ गर्दै २१७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा औरहीको टोली १६० रनमै अलआउट हुँदै पराजित भयो।

विजेता बौहरबाले ३० हजार रुपैयाँ नगदसहित तीन फिट अग्लो कप प्राप्त गरेको छ भने उपविजेता औरहीले २० हजार रुपैयाँ नगद र कपसहित दोस्रो पुरस्कार जितेको छ।

प्रतियोगिताको व्यवस्थापक तथा जनमत पार्टी औरहीका अध्यक्ष मुकेश्वर महतोले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। उनले यस्ता कार्यक्रमले गाउँस्तरका युवामा खेलप्रति रुचि बढाउने विश्वास पनि व्यक्त गरे।

प्रकाशित मिति: २०८२ कार्तिक १२, बुधबार २०:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !