जेन्जी पुस्ताको आन्दोलनमाथि दमनप्रति एनआरएमए साउदी अरबको आपत्ति

जेन्जी पुस्ताको आन्दोलनमाथि दमनप्रति एनआरएमए साउदी अरबको आपत्ति
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार २३:३३
जेन्जी पुस्ताको आन्दोलनमाथि दमनप्रति एनआरएमए साउदी अरबको आपत्ति

काठमाडौं : देशव्यापी जेन्जी पुस्ताहरुको आन्दोलनका क्रममा सरकारले गरेको दमन र गोली प्रहारबाट युवाहरूको मृत्यु भएको घटनाप्रति गैर आवासीय मधेशी संघ, साउदी अरब परिवारले गम्भीर चिन्ता र आक्रोश प्रकट गरेको छ।

संघका महासचिव बिरछ दासले जारी गरेको विज्ञप्तिमा विश्वसनीय स्रोतहरूका अनुसार हालसम्म २२ जना युवाले ज्यान गुमाएको र करिब ३ सय भन्दा बढी जेन्जी पुस्ताहरु गम्भीर घाइते भएको उल्लेख छ। “यो हृदयविदारक घटनाले सम्पूर्ण प्रवासी नेपाली समुदायलाई स्तब्ध बनाएको छ,” विज्ञप्तिमा भनिएको छ।

ADVERTISEMENT

संघले लोकतान्त्रिक मूल्य र मानव अधिकारको घोर उल्लङ्घन गर्ने दमनात्मक कार्यको कडा शब्दमा निन्दा र विरोध गर्दै जेन्जी पुस्ता आन्दोलनमार्फत युवाले उठाएका न्यायपूर्ण आवाजप्रति पूर्ण ऐक्यबद्धता प्रकट गरेको छ।

विज्ञप्तिमा आन्दोलनका क्रममा गिरफ्तार प्रदर्शनकारीलाई तुरुन्त रिहा गर्न, ज्यान गुमाएका युवालाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको उपचार तत्काल सुनिश्चित गर्न र संविधान तथा मानव अधिकारलाई सम्मान गर्दै न्यायसंगत मागहरूप्रति सरकार संवेदनशील बन्नुपर्ने माग गरिएको छ।

अन्त्यमा, संघले सबै नेपालीलाई आपसी एकता, धैर्य र सचेत रहन अपिल गर्दै, शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्ने वातावरण बनाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार २३:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !