रौतहटमा पानी अभावका कारण गौर–चन्द्रपुर सडक खण्ड अवरुद्ध

रौतहटमा पानी अभावका कारण गौर–चन्द्रपुर सडक खण्ड अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ११, बुधबार १७:२५
रौतहटमा पानी अभावका कारण गौर–चन्द्रपुर सडक खण्ड अवरुद्ध

चन्दन कुमार, रौतहट : रौतहटको यमुनामाई गाउँपालिका अन्तर्गत पर्ने राजपुर तुलसी र भेडियाही क्षेत्रका किसानहरूले सिचाइका लागि नहरमा पानी उपलब्ध गराउन माग गर्दै बुधबार गौर–चन्द्रपुर सडक खण्ड अवरुद्ध गरेका छन्।

धान खेती सुक्दै गएको र पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि कुनै पहल नभएको भन्दै किसानहरू सडकमा उत्रिएका हुन्। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि कुनै चासो नदेखाइएपछि बाध्य भएर सडक अवरोध गरेको बताए।

ADVERTISEMENT

सडक अवरोधमा सहभागी यमुनामाई गाउँपालिका–२ का वडा अध्यक्ष सिताराम यादवले सञ्चारकर्मीहरूसँग कुरा गर्दै, “सिचाइका लागि नहरमा पानी ल्याइदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका थियौं। तर अझैसम्म प्रक्रिया अगाडि नबढ्दा किसानहरू आक्रोशित भएका छन्,” भने।

सडक अवरोधका कारण गौर–चन्द्रपुर सडक खण्ड हुँदै चल्ने सवारीसाधन बीचमै रोकिएका थिए। यात्रुहरू अलपत्र परे भने लामो दूरीका सवारीसाधनलाई समेत गन्तव्यमा पुग्न कठिनाइ भएको थियो।

आन्दोलनमा सहभागी किसानहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनीहरूले तत्काल प्रभावकारी पहल गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १७:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !