गौरमा सुटकेसभित्र भेटिएको महिलाको शव पहिचान खुल्यो

गौरमा सुटकेसभित्र भेटिएको महिलाको शव पहिचान खुल्यो
अमित ठाकुर अमित ठाकुर २०८२ भाद्र ८, आईतवार ११:२५
गौरमा सुटकेसभित्र भेटिएको महिलाको शव पहिचान खुल्यो

रौतहट : रौतहटको गौर नगरपालिका–९ मुडवलवा मोड नजिक सुटकेसभित्र भेटिएको शवको पहिचान खुलेको छ।

शनिबार राति करिब ९ बजे सडक किनारमा डोरीले बेरेर फालिएको सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीका अनुसार सुटकेश खोलेपछि भित्र २७ वर्षीया रुबी साह सुरहीको शव भेटिएको हो।

ADVERTISEMENT

मृतक साह माधवनारायण नगरपालिका–६ माधोपुरका रामविनोद साह सुरहीकी छोरी हुन्। उनका ससुरा घर भारतको बिहार, मुजफ्फरपुरमा पर्छ। मृतकका एक चार वर्षका छोरा छन्।

सुरहीकी आमाबाबु गौर नगरपालिका–२ सुस्मा प्यालेस नजिक डेरा लिएर बस्दै आएका छन्। मृतक दुई महिनादेखि आमा सँगै बस्दै आएकी थिइन्। उनी शनिबार बेलुकी ससुराली जाने भनेर आमा घरबाट निस्किएकी थिइन्। करिब ६:३० बजे फोन सम्पर्क भएको र त्यसपछि सम्पर्क हुन नसकेको आफन्तले बताएका छन्।

प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ। “उक्त सुटकेश कसले ल्याएर फालेको हो र किन हत्या भयो भन्नेबारे अनुसन्धान भइरहेको छ,” एसपी गिरीले भने।

अपराध बढ्दो

रौतहटमा पछिल्लो समय अपराधजन्य घटनामा वृद्धि भएको स्थानीयले बताएका छन्। तीन दिनअघि मात्र गौरमा साहाबुद्दिन मियाको छुरा प्रहार गरी हत्या गरिएको थियो। अपराधीहरु निर्भिक भएर हिंडिरहेको र प्रहरी प्रशासन भने घटनाबारे अग्रिम जानकारी लिनसमेत असमर्थ देखिएको भन्दै स्थानीय चिन्तित बनेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ११:२५
अमित ठाकुर

अमित ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !