झापामा दुई करोड ३० लाख लागतमा विद्युतीय शवदाह गृह निर्माण

झापामा दुई करोड ३० लाख लागतमा विद्युतीय शवदाह गृह निर्माण
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार १०:३६
झापामा दुई करोड ३० लाख लागतमा विद्युतीय शवदाह गृह निर्माण

झापा : झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ।

कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा दुई करोड ३० लाख रुपैयाँ लागतमा कनकाई नदीको पूर्वी तटमा शवदाह गृह तयार गरिएको हो। यसमा प्रदेश सरकारले दुई करोड, नगरपालिकाले २० लाख र दाताहरूले १० लाख रुपैयाँ योगदान गरेका छन्।

ADVERTISEMENT

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले शवदाह गृहको सञ्चालन कनकाई नगरपालिकाले गर्ने उल्लेख गर्दै कार्यविधि तयार भइसकेको र एक साताभित्रै सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए।

विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलका अनुसार भारतीय प्राविधिक टोलीले निर्माणकार्य पूरा गरी फर्किसकेको छ। गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका–५ पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको थियो।

विद्युतीय शवदाह गृहमा एउटा शव दहन गर्न करिब ५० मिनेट लाग्ने छ भने परम्परागत दाउराबाट दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने खरेलले बताए।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा स्थानीय तहको सहकार्यमा शवदाह गृह निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको थियो।

निर्माण सम्पन्न भएपछि स्थानीयको लामो माग पूरा भएको छ। सन् २०६७ मा स्थापना भएको कनकाई घाटमा हाल पाँचवटा परम्परागत चितास्थल सञ्चालनमा छन्। नयाँ सुविधा सुरु भएपछि समय र काठ दुवैको बचत हुने र वातावरणीय संरक्षणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार १०:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !