दुई दाइ–भाइको हठले सहिदनगरमा आवतजावत ठप्प, किसान मारमा

दुई दाइ–भाइको हठले सहिदनगरमा आवतजावत ठप्प, किसान मारमा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २६, सोमबार २१:२४
दुई दाइ–भाइको हठले सहिदनगरमा आवतजावत ठप्प, किसान मारमा

जनकपुरधाम : धनुषाको सहिदनगर नगरपालिका–१ स्थित चिरैयादेखि रामघाट जोड्ने प्रमुख सडक स्थानीय दुई दाइ–भाइले भत्काएपछि आवतजावत ठप्प भएको छ।

आइतबारदेखि अवरुद्ध बनेको सडक नखुल्दा चिरैया, मतौना, ढरखोरिया, चौराकयलपुरसहितका दर्जनौँ गाउँका बासिन्दा, विशेषगरी किसान, ठूलो सास्तीमा परेका छन्।

ADVERTISEMENT

स्थानीयका अनुसार सडक भत्काउनेमा बिकरु यादव र देव चन्द्र यादव संलग्न छन्। दुवै जनाले सडकमा खाल्डा खनेको दृश्य मोबाइलमा कैद भएको छ। भिडियोमा केहीले उनीहरूलाई सडक नभत्काउन आग्रह गरे पनि ‘के गर्छौ’ भन्दै उल्टै हप्काएको देखिन्छ।

सडक अवरुद्ध हुँदा सवारीसाधन मात्र होइन, पैदल यात्रु समेत प्रभावित भएका छन्। विद्यालय जाने विद्यार्थी, बजार पस्ने व्यापारीदेखि बिरामी बोकेर लैजाने एम्बुलेन्ससम्म रोकिएको स्थानीयवासीले बताएका छन्।

एक स्थानीयको भनाइअनुसार बिकरु यादव र देव चन्द्र यादवको खेतमा पानी जमेकै कारण उनीहरूले सडक भत्काएका हुन्। तर यस कदमले दर्जनौँ गाउँका किसानहरू मारमा परेका छन्। अहिले धान रोपाइँको समय भएकाले यो सडक किसानका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

आफ्नै खेतको पानी सुखाउनका लागि दुवै दाइ–भाइले हजारौँ किसानलाई दु:ख दिने काम गरेका छन्। सडक चाँडै मर्मत नगरे कृषकको खेतीपातीमा थप क्षति हुने चिन्ता गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार २१:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !