रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार ०८:३५
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा सभापति रवि लामिछानेमाथि भइरहेको ‘राजनीतिक प्रतिशोध’ देखि रुपन्देही-३ को उपनिर्वाचन, पार्टीभित्रको विवाद र महत्वपूर्ण सांगठनिक नियुक्तिसम्मका १३ वटा महत्त्वपूर्ण एजेन्डामाथि छलफल हुने भएको छ । पार्टीले सार्वजनिक गरेको एजेन्डाअनुसार, आजको बैठक समसामयिक राजनीतिक परिस्थितिको समीक्षाबाट सुरु हुनेछ । यसअन्तर्गत रुपन्देहीमा सम्पन्न संसदीय दलको बैठक, उपनिर्वाचनको तयारी, र जिल्ला संगठनको अवस्थाबारे रिपोर्टिङ हुनेछ ।

ADVERTISEMENT

‘कुलिङ अफ पिरियड’को विवाद र रविको मुद्दा प्राथमिकतामा
बैठकको सबैभन्दा महत्त्वपूर्ण एजेन्डामध्ये पार्टीको ‘कुलिङ अफ पिरियड’ कार्यान्वयनमा देखिएको गडबडीबारे गठित छानबिन समितिको प्रतिवेदनमाथि छलफल रहेको छ । त्यसैगरी, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध सञ्चालित हस्ताक्षर अभियानको प्रगति समीक्षा गर्दै यसलाई थप प्रभावकारी बनाउने रणनीतिबारे पनि छलफल हुनेछ ।

बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूको मनोनयन, पूर्व केन्द्रीय सदस्यहरूलाई नयाँ जिम्मेवारी दिने प्रस्ताव, र पार्टीको निर्वाचन आयोगमा सदस्य मनोनयन गर्ने विषयलाई टुंगो लगाउनेछ । यसका साथै, भविष्यका लागि ‘रणनीतिक समूह’ गठन गर्ने महत्त्वपूर्ण प्रस्ताव पनि छलफलको सूचीमा छ । प्रदेश इन्चार्जहरूले आ-आफ्नो प्रदेशको रणनीतिक योजना र प्रगतिबारे संक्षिप्त रिपोर्टिङ गर्नेछन् भने केन्द्रीय सदस्यहरूले पनि आफ्नो कार्यक्षेत्रको रिपोर्ट प्रस्तुत गर्नेछन् ।

बैठकले विदेशमा रहेका लाखौं नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसैगरी, पार्टी सचिवालयबाट अनुमोदित भइसकेको केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत गरिनेछ भने सांसदहरूले पार्टीलाई बुझाउनुपर्ने ‘लेवी’को विषयमा पनि छलफल हुने एजेन्डामा उल्लेख छ ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार ०८:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !