वैदेशिक रोजगारीमा गएका महिलाको मृत्युपछि परिवार गम्भीर संकटमा

वैदेशिक रोजगारीमा गएका महिलाको मृत्युपछि परिवार गम्भीर संकटमा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार १६:१४
वैदेशिक रोजगारीमा गएका महिलाको मृत्युपछि परिवार गम्भीर संकटमा

काठमाडौं : वैदेशिक रोजगारीमा गएका नेपाली महिला श्रमिकहरूको मृत्युपछि उनीहरूका परिवार सामाजिक, मानसिक र आर्थिक संकटमा पर्ने गरेको एक अध्ययनले देखाएको छ।

महिला पुनर्स्थापना केन्द्र (WOREC) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका महिलाहरूको मृत्यु हुँदा राज्यको उपस्थिति न्यून देखिएको छ। संस्थाले १७ वटा घटनामा गरेको अध्ययनमा पीडित परिवारहरूले सरकारी निकाय र नेपाली दूतावासहरूबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेका छन्।

ADVERTISEMENT

शव ल्याउन ढिलाइ र खर्चिलो प्रक्रिया
मृतक महिला श्रमिकको शव नेपाल ल्याउन लामो समय लाग्ने र अत्यधिक खर्च लाग्ने प्रक्रियाले पीडित परिवारहरू थप पीडामा परेको प्रतिवेदनमा उल्लेख छ। नेपाली दूतावासहरूको सीमित सहयोग, झन्झटिलो प्रक्रिया, र अपारदर्शिता मुख्य समस्या भएको बताइएको छ।

परिवारमा मानसिक र आर्थिक संकट
महिला श्रमिकको मृत्यु भएपछि उनीहरूका साना बालबालिका र अभिभावक गम्भीर मानसिक समस्याबाट पीडित हुने गरेका छन्। साथै, वैदेशिक रोजगारीका लागि लिएको उच्च ब्याजको ऋण तिर्न नसक्दा परिवारहरू घरजग्गा बेच्न, बसोवास छाड्न बाध्य भएका उदाहरणहरू देखिएका छन्।

अनौपचारिक च्यानलबाट गएकाहरू झन् बढी जोखिममा
अनौपचारिक माध्यमबाट गएका महिला श्रमिकहरूको मृत्युपछि शव ल्याउने प्रक्रिया झन् जटिल र अपारदर्शी हुने गरेको छ। यस्ता घटनामा पीडित परिवारले सामाजिक लाञ्छना र बहिष्कार समेत भोग्नुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

महिला पुनर्स्थापना केन्द्रले वैदेशिक रोजगारीका लागि महिला श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न, शव व्यवस्थापन प्रक्रिया सहज बनाउने, र पीडित परिवारलाई सामाजिक तथा मानसिक सहयोग प्रदान गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १६:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !