पटनामा वीरेन्द्र प्रसाद सिंह र गिरिराज सिंहबीच शिष्टाचार भेट

पटनामा वीरेन्द्र प्रसाद सिंह र गिरिराज सिंहबीच शिष्टाचार भेट
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १७, शनिबार २०:५४
पटनामा वीरेन्द्र प्रसाद सिंह र गिरिराज सिंहबीच शिष्टाचार भेट

पटना : नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंह र भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं भारत सरकारका केन्द्रीय मन्त्री गिरिराज सिंहबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भारतको बिहार राज्यको राजधानी पटनामा सम्पन्न भेटमा नेपाल–भारत सम्बन्ध, धार्मिक तथा सांस्कृतिक साझेदारी, पर्यटन प्रवर्द्धन, आर्थिक विकास र राजनीतिक समन्वयबारे सकारात्मक छलफल भएको नेता सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए।

ADVERTISEMENT

भेटका क्रममा नेता सिंहले मधेश प्रदेश हाल सुख्खा संकटको चपेटामा परेकाले भारतीय मित्र राष्ट्रबाट सहयोगको अपेक्षा रहेको बताए। “यहाँका सर्वसाधारणले धेरै दुःख भोगिरहेका छन्, यस्तो अवस्थामा छिमेकी मित्रराष्ट्र भारतको मानवीय सहयोगको अपेक्षा गरेका छौं,” सिंहको भनाइ उद्धृत गर्दै त्रिपाठीले बताए।

साथै, मन्त्री गिरिराज सिंहले आगामी दिनमा मधेश प्रदेश तथा नेपालको भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए। उनले नेपाल–भारतबीचको पुरातन धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता समेत जनाएका छन्।

भेटमा नेता सिंहले नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन रूपमा सबै क्षेत्रमार्फत सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरेका थिए। उनले नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध पनि आगामी दिनमा अझ सशक्त र प्रभावकारी हुने अपेक्षा गरेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण १७, शनिबार २०:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !