हंसपुर नगरपालिकामा विवाद चुलियो, उपप्रमुखलाई प्रशासकीय अधिकृतको धम्की

हंसपुर नगरपालिकामा विवाद चुलियो, उपप्रमुखलाई प्रशासकीय अधिकृतको धम्की
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १५, बिहीबार १८:४७
हंसपुर नगरपालिकामा विवाद चुलियो, उपप्रमुखलाई प्रशासकीय अधिकृतको धम्की

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा विवादित घटनाहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। पछिल्लो घटनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाले उपप्रमुख दुर्गीदेवी मण्डललाई सेवासुविधा रोक्ने धम्की दिएको आरोप लागेको छ।

राजस्व परामर्श समितिको बैठकमा उपप्रमुख मण्डलले हस्ताक्षर गर्न अस्वीकार गरेपछि अधिकृत झाले हस्ताक्षर नगरे सबै सेवा सुविधा बन्द गरिने चेतावनी दिएका थिए। उपप्रमुख मण्डलका अनुसार आफू संयोजक रहेको समितिमा गोप्य रूपमा निर्णय गरेर जबरजस्ती हस्ताक्षर गराउन खोजिएको थियो।

ADVERTISEMENT

“पोखरी र एम्बुलेन्स आम्दानीको मागपछि धम्की”

उपप्रमुख मण्डलले भनिन्, “ठेक्का दिइएको पोखरी र एम्बुलेन्सको आम्दानी सार्वजनिक गर्न मागेपछि अधिकृत झाले धम्की दिए। मलाई तल्लो दर्जामा देखाउने प्रयास भइरहेको छ।”

उपप्रमुख मण्डलसहित पाँच जना वडाध्यक्षले आर्थिक वर्ष २०८१/८२ को आम्दानी–खर्च सार्वजनिक नभएसम्म नगरसभा हुन नदिने अडान लिएका छन्। स्थानीय सरकार संचालन ऐनअनुसार असार १० भित्र नगरसभा सम्पन्न हुनुपर्ने कानूनी व्यवस्था भए पनि विवादका कारण हंसपुरमा अझै नगरसभा हुन सकेको छैन।

नगर प्रमुखमाथि आर्थिक अपारदर्शिताको आरोप

वडा नं. ९ का अध्यक्ष प्रदीप कुमार मण्डलले नगर प्रमुख प्रदीप कुमार यादव र प्रशासकीय अधिकृत झामाथि मिलेमतोमा आर्थिक अनियमितताको आरोप लगाएका छन्। “खर्च विवरण माग्दा प्रमुखले उपलब्ध नगराए, बरु अधिकृतलाई सेवासुविधा रोक्न निर्देशन दिए,” उनले भने।

उपप्रमुख मण्डलले भनिन्, “स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिन कार्यालय जान सकिनँ। अब हामी वडाध्यक्षहरू मिलेर कार्यालय घेराउ गर्ने तयारीमा छौँ।” उनले प्रमुख प्रशासकीय अधिकृतको हैसियतप्रति प्रश्न उठाउँदै भनिन्, “लोकसेवा पास गरेर आएको भनेर सेवासुविधा रोक्ने अधिकार कसले दियो? उसको जवाफ उसैलाई दिनुपर्छ।”

नगरसभा नहुनुको कारण डर हो: वडाध्यक्ष लालबाबु यादव

वडा नं. ४ का अध्यक्ष लालबाबु यादवले नगर प्रमुख यादव बहुमत गुमाइसकेको दाबी गर्दै उनले डरले नगरसभा बोलाउन नसकेको बताए। “तालिम र गोष्ठीको नाममा प्रमुख र अधिकृतले ब्रह्मलुट मचाएका छन्। हामीले हिसाब माग्दा उल्टै धम्की आउँछ,” उनले भने।

उनका अनुसार हाल खानेपानीको चरम अभाव छ तर पालिकाले ४२ वटा ह्याण्डपाइप भण्डारणमै राखेको छ। “जनतालाई नदिई आफन्त र नजिकका व्यक्तिलाई बाँडिएको छ,” उनले आरोप लगाए।

प्रशासकीय अधिकृत झामाथि विगतदेखि नै असहयोगी व्यवहारको आरोप

कार्यपालिका सदस्य राजेश पासवानले नगर प्रमुख यादव असक्षम भएको आरोप लगाउँदै भने, “नेतृत्व कमजोर भएपछि अधिकृत त जससँग मिलेर कमाउने हो। भ्रमण भत्ताको नाममा पनि अनियमितता भएको छ। कुन कर्मचारी कहाँ भ्रमण गयो, त्यो पनि सार्वजनिक हुनुपर्छ।”

झा यसअघि धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिकामा कार्यरत थिए। तर दुबै पालिकाका प्रमुखले उनलाई असहयोगी बताउँदै फिर्ता पठाएका थिए। स्थानीय रूपमा उनलाई ‘पर्यटक अधिकृत’ भनेर व्यङ्ग्य गरिन्छ।

यस विषयमा सम्पर्क गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत झा मधेशपत्रको सम्पर्कमा आउन चाहेनन्।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार १८:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !