घाम, धूलो र आँखा सुरक्षा लागि मधेश प्रदेशभरीका ट्राफिक प्रहरीले पाए कालो चश्मा

घाम, धूलो र आँखा सुरक्षा लागि मधेश प्रदेशभरीका ट्राफिक प्रहरीले पाए कालो चश्मा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १४, बुधबार २३:०२
घाम, धूलो र आँखा सुरक्षा लागि मधेश प्रदेशभरीका ट्राफिक प्रहरीले पाए कालो चश्मा

जनकपुरधाम : गर्मी मौसममा ड्युटी गर्ने ट्राफिक प्रहरीलाई सहज बनाउने उद्देश्यले नेपाल नेत्र ज्योति संघ, मधेस प्रदेशले प्रदेशभरका ट्राफिक प्रहरीलाई कालो चश्मा वितरण गरेको छ।

संघमार्फत सर्लाहीको ईश्वरपुरस्थित आँखा उपचार केन्द्रलाई प्राप्त ७०० थान चश्मा बुधबार ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो। संघका मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाललाई चश्मा हस्तान्तरण गरे।

ADVERTISEMENT

चश्मा वितरण कार्यक्रममा सभापति चौधरीले पूर्व–पश्चिम राजमार्ग विस्तारका कारण ट्राफिक प्रहरीको कार्यभार थप चुनौतीपूर्ण भएको उल्लेख गर्दै घाम, धूलो र आँखा सम्बन्धी समस्याबाट जोगिन सहयोग पुग्ने उद्देश्यले चश्मा वितरण गरिएको जानकारी दिए।

प्रहरी उपरीक्षक सिलवालले चश्माले ट्राफिक प्रहरीको कार्यक्षमता बढाउन सहयोग पुग्ने भन्दै संघलाई धन्यवाद ज्ञापन गरे। “घाम र धूलोमा काम गर्दा आँखा कमजोर हुने, समस्या हुने जोखिम हुन्छ। चश्माले सुरक्षा दिन्छ,” उनले भने।

ईश्वरपुर नगरपालिकाका प्रमुख तथा आँखा उपचार केन्द्रका अध्यक्ष मनोज आचार्यले नागरिकको सुरक्षामा दिनरात नभनी खटिने ट्राफिक प्रहरीप्रति स्थानीय तहको समर्थन हुनु जरुरी रहेको बताए।

कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टसहित मधेस प्रदेशका आठै जिल्लाबाट ट्राफिक प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधबार २३:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !