पर्यटन योजनामा भ्रष्टाचारको आरोप, विद्यार्थी जनमत संघद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण

पर्यटन योजनामा भ्रष्टाचारको आरोप, विद्यार्थी जनमत संघद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण
मधेशपत्र मधेशपत्र २०८२ असार २५, बुधबार २०:३५
पर्यटन योजनामा भ्रष्टाचारको आरोप, विद्यार्थी जनमत संघद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण

जनकपुरधाम : मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विकास कार्यालय, धनुषामा गम्भीर आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै विद्यार्थी जनमत संघ, धनुषाले प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई गम्भीर ध्यानाकर्षण गराएको छ।

विद्यार्थी जनमत संघका अध्यक्ष बिरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हालै सम्पन्न आर्थिक वर्ष २०८१/८२ को अन्तिमतिर सञ्चालित विभिन्न योजनाहरूको भुक्तानी प्रक्रियामा सेवाग्राही तथा उपभोक्ता समितिहरूबाट व्यापक गुनासो आएको उल्लेख गरिएको छ।

ADVERTISEMENT

ध्यानाकर्षण पत्रमा पर्यटन विकास कार्यालयका प्रमुख रोहित प्रसाद प्रशैला योजनाको कार्य सम्पन्न भएपछि सेवाग्राहीहरूसँग व्यक्तिगत रूपमा सम्पर्क गरी ७ प्रतिशत ‘कमिसन’ बुझाएमा मात्र भुक्तानी प्रक्रिया अघि बढाउने गरेको गम्भीर आरोप लगाइएको छ। साथै, उनले आफूले लिएको कमिसन रकम मन्त्रालयस्तरमा — विशेषतः उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीलाई बुझाउनु पर्ने दाबी सेवाग्राहीहरूसँग गर्ने गरेको उल्लेख छ।

“कार्यालय प्रमुख प्रशैलासँग सम्बन्धित भ्रष्ट गतिविधिका प्रमाणहरू संघले सुरक्षित राखेको छ,” अध्यक्ष यादवले पत्रमा उल्लेख गरेका छन्।

संघले यस्तो कार्यलाई ‘भ्रष्ट, अनैतिक र गैरकानुनी’ भन्दै कडा आपत्ति जनाएको छ र गम्भीर छानबिनसहित दोषीमाथि कडा कारबाहीको माग गरेको छ। यदि तत्काल कारबाही प्रक्रिया अगाडि नबढाइए जनस्तरबाट प्रतिकारात्मक आन्दोलन गर्न बाध्य हुने चेतावनी संघले दिएको छ।

“कार्यालय प्रमुखमाथि कारबाही नहुँदासम्म विद्यार्थी जनमत संघ, धनुषा कार्यसमितिको नेतृत्वमा आन्दोलनको वातावरण बन्नेछ, जसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ,” ध्यानाकर्षण पत्रमा भनिएको छ।

विद्यार्थी जनमत संघले भ्रष्टाचारजस्तो गम्भीर विषयलाई गम्भीरतापूर्वक लिन प्रदेश सरकारसँग माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ।

ध्यानाकर्षण पत्र बुझाउन संघका केन्द्रिय सदस्य सचिन यादव, सतिश पण्डित, विकास यादव, अनिश साह, मुकेश शर्मा, जिबछ साह, भाग्यनारायण यादव लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: २०८२ असार २५, बुधबार २०:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !