पूर्वआईजीपी कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, निरौला र पौडेलको इजलासमा पेसी

पूर्वआईजीपी कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, निरौला र पौडेलको इजलासमा पेसी
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ९, बुधबार १०:३६
पूर्वआईजीपी कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, निरौला र पौडेलको इजलासमा पेसी

काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो पदमुक्ति र नयाँ आईजीपी नियुक्तिविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतको दैनिक पेसी सूचीअनुसार उक्त रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको छ।

यसअघि नवनियुक्त आईजीपी मनोज केसीका नाममा म्याद तामेल भएको वा नभएको विषय स्पष्ट हुन नसक्दा सुनुवाइ स्थगित भएको थियो। त्यसपछि इजलासले महान्यायाधिवक्तालाई उपस्थित गराई म्याद तामेली सुनिश्चित गर्न निर्देशन दिएको थियो।

ADVERTISEMENT

त्यस्तै, केसीलाई आईजीपी नियुक्त गर्ने तथा कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने प्रधानमन्त्री कार्यालयको निर्णयसम्बन्धी सक्कल फाइलसमेत अदालतमा पेस गर्न आदेश दिएको थियो।

गत कात्तिक १८ गते सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर मनोज केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको थियो। सरकारको उक्त निर्णय गैरकानुनी भएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि नै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ। आजको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि अदालतले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन सक्नेछ।

प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार १०:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !