प्रधानमन्त्री शाहलाई नयाँदिल्लीमा ‘गार्ड अफ अनर’ दिने तयारी पूरा

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीमा ‘गार्ड अफ अनर’ दिने तयारी पूरा
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ७, सोमबार १०:३०
प्रधानमन्त्री शाहलाई नयाँदिल्लीमा ‘गार्ड अफ अनर’ दिने तयारी पूरा

काठमाडौं : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा ‘गार्ड अफ अनर’ प्रदान गर्ने तयारी पूरा भएको छ। केहीबेरमै भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान गारथ अर्पण गर्ने कार्यक्रम रहेको छ।

समारोहका लागि राष्ट्रपति भवन परिसरमा रातो कार्पेट बिछ्याएर भव्य सजावट गरिएको छ। साथै, सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। सुरक्षाका लागि तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

समारोहस्थलको एकातिर सञ्चारकर्मी र अर्कोतिर नेपाल तथा भारतका राष्ट्रिय झण्डा बोकेका सर्वसाधारण एवं अधिकारीहरूलाई व्यवस्थित रूपमा राखिएको छ।

ADVERTISEMENT

‘गार्ड अफ अनर’ ग्रहण गरेपछि प्रधानमन्त्री शाह बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

भेटवार्तापछि बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ। त्यसक्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा विभिन्न द्विपक्षीय विषयमा छलफल हुने कार्यक्रम छ।

दिउँसो १२:३५ बजे हैदराबाद हाउसमा विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, द्विपक्षीय समझदारीपत्र तथा सम्झौता आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

त्यसैगरी, दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट स्वदेश फर्कनेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार १०:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !