गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, ३० लाखको क्षति

गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, ३० लाखको क्षति
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ७, सोमबार १०:१८
गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, ३० लाखको क्षति

सर्लाही : उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन्। आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा आगो लगाउनुका साथै विभिन्न संरचनामा तोडफोड गरेका हुन्।

मृत्यु हुनेमा बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवी रहेकी छन्। तीन दिनदेखि बिरामी रहेकी उनलाई उपचारका लागि बरहथवा नगर अस्पतालमा भर्ना गरिएको थियो।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन्। चिकित्सकको लापरबाहीका कारण उनको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड तथा आगजनी गरेका थिए।

ADVERTISEMENT

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो। तर, चिकित्सकले शनिबार राति १० बजेर ५३ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

घटनापछि बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको छ। अस्पतालका सूचना अधिकारी राजेश गुप्ताका अनुसार घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ। घटनामा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।

घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार आइतबार बिहानसम्म क्षेत्रको अवस्था सामान्य रहेको छ।

यद्यपि, गर्भवती महिलाको मृत्यु चिकित्सकीय लापरबाहीकै कारण भएको हो वा होइन भन्ने विषयमा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार १०:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !