संसदीय समितिमा चार विधेयकमाथि दफावार छलफल सुरु

संसदीय समितिमा चार विधेयकमाथि दफावार छलफल सुरु
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ७, सोमबार १०:२५
संसदीय समितिमा चार विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतका विभिन्न संसदीय विषयगत समितिमा विचाराधीन चार वटा विधेयकमाथि दफावार छलफल अघि बढेको छ। सोमबार चार वटा समितिले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न बैठक बोलाएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल गर्दैछ। उक्त विधेयकमाथि छलफलका लागि सोमबार बिहान ११ बजे समितिको बैठक बस्दैछ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथि संशोधनकर्ता सहभागी गराएर दफावार छलफल गर्ने कार्यसूची तय गरेको छ।

ADVERTISEMENT

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विज्ञहरूसँग छलफल हुँदैछ। अर्थ समितिले भने अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि संशोधन प्रस्ताव दर्ता गर्ने संशोधनकर्तासँग छलफल गर्ने भएको छ।

चारवटै समितिका बैठक सिंहदरबारमा बस्नेछन्।

संघीय संसद्का दुवै सदनमा हाल ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन्। तीमध्ये प्रतिनिधिसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा मात्रै २४ वटा विधेयक रहेका छन्। तीमध्ये केही विधेयक दफावार छलफलको प्रक्रियामा अघि बढेका हुन्।

संघीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच वटा विधेयक विचाराधीन छन्। त्यस्तै, अर्थ समितिमा चार, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा तीन, महिला तथा सामाजिक मामिला समितिमा तीन र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन वटा विधेयक रहेका छन्।

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दुई, राज्य व्यवस्था तथा सुशासन समितिमा दुई, कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा र पूर्वाधार विकास समितिमा एउटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार १०:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !