मदिरा सेवनपछि बियरको बोतल र रडले प्रहार गरी हत्या, आरोपित पक्राउ

मदिरा सेवनपछि बियरको बोतल र रडले प्रहार गरी हत्या, आरोपित पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १२, बुधबार १०:४४
मदिरा सेवनपछि बियरको बोतल र रडले प्रहार गरी हत्या, आरोपित पक्राउ

विराटनगर: मोरङको विराटनगरमा ब्याट्री पसल सञ्चालन गर्दै आएका भारतीय नागरिक लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पसलबाट सामान चोरी गरेको आरोप लगाउँदै आएको रिसइबीका कारण हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले विराटनगर महानगरपालिका–६ निवासी ३७ वर्षीय अब्जर मियालाई मंगलबार साँझ पक्राउ गरेको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार गुप्ता र मियाबीच पसलबाट सामान चोरी गरेको विषयलाई लिएर विवाद हुँदै आएको थियो। सोही विषयमा उत्पन्न मनमुटाव र रिसइबीका कारण मियाले गुप्ताको हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानअनुसार गत शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। त्यस क्रममा दुवैले सँगै बसेर मदिरा सेवन गरेका थिए। मदिराको नशामा रहेका बेला मियाले बियरको बोतल र त्यसपछि फलामको रडले गुप्ताको टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

हत्या गरेपछि शव लुकाउन मियाले सिटी सफारी प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनले गुप्ताको शव बोरामा राखेर सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा लगेर फालेको आरोप छ।

आइतबार बिहान स्थानीय बासिन्दाले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो।

मृतक गुप्ता भारतको उत्तर प्रदेशस्थित बनारसका बासिन्दा हुन्। उनी लामो समयदेखि विराटनगरमा एक्लै बस्दै ब्याट्रीको कारोबार गर्दै आएका थिए।

घटनाबारे प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार १०:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !